कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट आनन्द अहिले चुनावी दौडमा छन्। उनले अहिले विभिन्न वडाहरुमा आफ्नो घरदैलो कार्यक्रम गरिरहेका छन् ।
उनीसँग कांग्रेसका चुनावी कमान्डर बसन्त रोकया ललित पनि सँगै छन्। उनी कांग्रेसका क्षेत्रीय सभापति पनि हुन् ।बिष्टको राजनीतिक भूगोल भने डोटी हो।
यद्यपि पार्टीले उनलाई कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ। लामो समयदेखि प्रवासमा रहेका आनन्द नेपाली कांग्रेसको राजनीतिमा त्यहाँ पनि सक्रिय थिए।
उनी सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन्। खासगरी उनी अमेरिकामा रहँदा पनि नेपाली समुदायलाई सहयोग गर्दै आएका व्यक्तिको रुपमा परिचित छन्। आम निर्बाचन , कांग्रेसको आन्तरिक चुनावको बेला र अन्य अन्य समयमा पनि आनन्द नेपाल ओहोरदोहोर भने गरिनैरहन्छन् ।
उनलाई पार्टीले टिकट दिएपछि उनले यस क्षेत्रका आम कांग्रेसका नेता कार्यकर्ता भने चिनेका थिएनन् । उनले सुरुमा क्षेत्रीय सभापति रोकाया सँग सम्पर्क गरे । बिष्टको उम्मेदवारी दर्ता पनि वारिसनामा मार्फत रोकायाले नै गरेका थिए।
रोकाया तरुण दल हुँदै नेपाली कांग्रेसमा सक्रिय नेता हुन्। पछिल्लो समय कांग्रेसका युवाहरूमा पनि उनको प्रभाव उत्तिकै रहेको छ। रोकाया क्षेत्रीय सभापति बनेपछि अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस उम्मेदवार वीरबहादुर बलायर का चुनावी कमाण्डर बनेका थिए ।
उनले उक्त चुनाव सफलतापूर्वक बलायरलाई जिताएका थिए। रोकाया पार्टीको निर्णयमा इमान्दारीका साथ लाग्ने नेताका रुपमा पनि परिचित छन्। उनी प्रायजसो बिहानैदेखि साँझसम्म उम्मेदवारसँग सँगै खटिने गर्दछन्। पछिल्लो समय उनी चुनावी रणनीति बनाउन पनि माहिर मानिन्छन्।
खासगरी गाउँ गाउँमा कांग्रेस संगठन विस्तार गर्नेदेखि कांग्रेसका नेता कार्यकर्तालाई मसिनो गरी बुझ्ने नेताका रुपमा पनि उनी परिचित छन्। योपटक पनि बिष्टले उम्मेदवारी दर्ता गरेसँगै रोकाया बिष्टसँगै चुनावी प्रचारमा जुटेका छन् । योपटक बिष्टलाई जिताउन रोकायाको लागि भने चुनौतीपुर्ण छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनमा थियो। तत्कालीन माओवादी ,समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो।
जसको कारण उक्त चुनावमा कांग्रेसबाट वीरबहादुर बलाई निर्वाचित भएका थिए। चुनावी प्रचारमा रहेका सभापति रोकायाले भने ,"यो पटक नि चुनाव जितिन्छ , झन उम्मेदवार फेरिंदा उत्साह नै छ ।
हाम्रो उम्मेदवार युवा छन् , देश बिदेश र यहाँ को भूगोल बुझेका छन् त्यो हुँदा सहज नै जित हुन्छ ।"
यो निर्बाचनमा बिष्टसँगै नेकपा एमालेबाट एमालेका उपमहासचिव तथा यो क्षेत्रबाट दुई पटक सांसद बनेका लेखराज भट्ट जस्ता अनुभवी नेता चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट हरि चौधरी उत्सव पनि चुनावी प्रतिस्पर्धामा छन्। अर्कोतर्फ देशभरि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पकड बढाइरहेका बेला यो क्षेत्रमा रास्वपाका खेमराज कोइराला पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।