अत्तरिया जेसिजद्वारा आयोजित कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँगको प्रत्यक्ष संवाद कार्यक्रममा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।
कार्यक्रममा उनले राष्ट्रको हितलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम जनतासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। भट्टले समृद्ध राष्ट्र निर्माणका लागि स्थिरता, सहकार्य र स्पष्ट दृष्टिकोण आवश्यक रहेको पनि उल्लेख गरे।
उनी क्षेत्रका पूर्वाधार आयोजना जस्तै सेती लोकमार्ग, महाकाली करिडोर, खुटिया–दिपायल फास्ट ट्र्याक र सुख्खा बन्दरगाहको निर्माणलाई पूर्णता दिने प्राथमिकतामा रहेको बताए। यसले सुदूरपश्चिमको समग्र विकास र क्षेत्रको आर्थिक गतिविधि सशक्त पार्ने उनी बताउँछन्।
भट्टले क्षेत्रीय विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक स्तरोन्नति, कृषिमा आधारित उद्योग स्थापना र भूमिहीन नागरिकलाई भूमि व्यवस्थापन गर्ने काममा विशेष ध्यान दिने बताए। साथै राजधानी निर्माण प्रक्रिया अघि बढाउने र सामाजिक संस्कारयुक्त समाज निर्माणमा पनि पहल गरिने उनले स्पष्ट पारे।
कार्यक्रममा अन्य उम्मेदवारहरूले पनि आ–आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए भने सहभागीहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्न–उत्तरको अवसर पाएका थिए।