नेपाली कांग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार आयोजित एक समारोहका बीच उनले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, युवा, समावेशिता लगायतका विभिन्न क्षेत्र समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धता पत्रमा यस क्षेत्रका अधिकांश नागरिकको मुख्य पेशा कृषि भएकाले किसानका लागि समयमा मलखाद तथा बीउविजनको व्यवस्था, सिँचाइ विस्तार, आधुनिक कृषि प्रणाली विकास तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न पहल गरिने उल्लेख गरिएको छ। छाडा चौपाया व्यवस्थापन, पशुपालन तथा दुग्ध व्यवसाय प्रवर्द्धनका लागि विशेष योजना ल्याउने प्रतिबद्धता समेत उनले जनाएका छन्।
भूमिहीन, दलित, सुकुमवासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी लालपुर्जा वितरणका लागि पहल गरिने, सहकारी क्षेत्रलाई पारदर्शी बनाइने तथा कृषकलाई सहुलियत ऋण उपलब्ध गराउन सरकारसँग पहल गरिने उनले बताए। तीनवटै पालिकामा शीतभण्डार निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन्।
शिक्षा क्षेत्रमा प्रविधिमैत्री शिक्षा विस्तार, विपन्न परिवारका छोरीलाई उच्च शिक्षामा प्रोत्साहन, सामुदायिक विद्यालयको उन्नयन तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई आईटी क्याम्पसका रूपमा विकास गर्ने योजना प्रतिबद्धतामा समावेश छ। साथै दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकल साइन्स अध्ययन सुरु गर्ने वातावरण बनाउन पहल गरिने उनले बताए।
पूर्वाधार विकास अन्तर्गत प्रदेश राजधानी तोकिएको स्थानमा निर्माणका लागि निर्णायक पहल, बहुउद्देश्यीय रंगशाला निर्माण, नदी कटान नियन्त्रणका लागि तटबन्ध, ग्रामीण सडक स्तरोन्नति, विद्युतीकरण, सिँचाइ नहर तथा खेल मैदान निर्माण गर्ने योजना उल्लेख गरिएको छ। अत्तरिया बसपार्कलाई सुविधा सम्पन्न क्षेत्रीय बसपार्क बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
पर्यटन प्रवर्द्धनका लागि गोदावरी क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, संग्रहालय स्थापना तथा विभिन्न सडक स्तरोन्नति योजनालाई प्राथमिकतामा राखिने उनले बताए।
समावेशी विकासतर्फ दलित, आदिवासी जनजाति, थारु, रानाथारु, मुस्लिम, राजी, कुमाल, एकल महिला, लैङ्गिक अल्पसंख्यक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ। श्रमिकका हकहितका लागि सामाजिक सुरक्षा कोष अनिवार्य बनाउन पहल गरिने उल्लेख छ।
युवा लक्षित कार्यक्रम अन्तर्गत प्रत्येक वडामा निःशुल्क वाइफाइ जोन, ई–लाइब्रेरी, डिजिटल सीप तालिम, सहुलियत कर्जा तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। विदेशबाट फर्किएका युवाको सीप उपयोग गरी स्थानीय स्तरमै स्वरोजगारको वातावरण बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।
उम्मेदवार आनन्दले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी क्षेत्रको समग्र विकासका लागि आवश्यक योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।