लगातार तेस्रो हारसँगै नेपाल आईसीसी पुरुष टी– २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार नेपालविरुद्ध वेस्ट इन्डिजले ९ वकेटको सहज जित निकाल्यो ।मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी, सिम्रन हेटमायरले अविजित ४६ र ब्रेन्डन किङ्गले २२ रन बनाए ।
नेपालका लागि १ मात्र विकेट नन्दन यादवले लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि दीपेन्द्रले ४७ बलमा ३–३ चौका र छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी सोमपाल कामीले अविजित २६, लोकश बमले १३ तथा आसिफ शेख र गुल्सनकुमार झाले ११–११ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्ड र शमर जोशेफ र रोस्टन चेजले १–१ विकेट लिए ।
तेस्रो हारसँगै समूह ‘सी’को नेपाल अंकविहीन छ । यसअघि नेपालले इंग्ल्यान्डसँग ४ रन र इटालीसँग १० विकेटको हार व्यहोरेको थियो ।
यता लगातार तेस्रो जितसँगै ६ अंक जाेडेकाे वेस्ट इन्डिजले एक खेल अगावै सुपर– ८ मा स्थान बनाएको छ । यसअघि वेस्ट इन्डिजले स्कटल्यान्डलाई २५ र इंग्ल्यान्डलाई ३० रनले हराएको थियो ।