आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर प्रेम र सम्बन्धको उत्सवका रूपमा मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने यो दिन विशेषगरी युवापुस्तामाझ लोकप्रिय मानिन्छ।
आजका दिन प्रेमी–प्रेमिका, दम्पती तथा साथीहरूबीच शुभकामना आदानप्रदान, उपहार साटासाट तथा विशेष भेटघाट गर्ने चलन छ। पछिल्ला वर्षहरूमा यो दिवस एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको देखिन्छ।
विशेषगरी युवायुवतीहरूबीच फूल, कार्ड, चकलेट तथा विभिन्न उपहारमार्फत आफ्ना भावना व्यक्त गर्ने परम्परा बढ्दो छ। रेस्टुरेन्ट, क्याफे, सपिङ मलदेखि सार्वजनिक स्थलसम्म विशेष सजावट देखिन थालेका छन्। सामाजिक सञ्जालहरू प्रेमिल सन्देश, तस्बिर र भिडियोहरूले भरिएका छन् भने डिजिटल प्रविधिको प्रभावसँगै ‘भ्यालेन्टाइन डे’ मनाउने शैली थप आधुनिक बन्दै गएको छ।
‘भ्यालेन्टाइन डे’को इतिहास रोमन पादरी सन्त भ्यालेन्टाइनसँग जोडिएको मानिन्छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएको विश्वास गरिन्छ। यही कारण सन् २६९ को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो। उनको प्रेम र समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको बताइन्छ।
नेपालमा पनि पछिल्लो समय यो दिवस उत्साहका साथ मनाइँदै आएको छ। फेब्रुअरी ७ देखि सुरु हुने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र ‘हग डे’ हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।
काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा लगायतका शहरहरूमा युवायुवतीहरू फूल तथा उपहार किनमेलमा व्यस्त देखिन्छन् भने रेस्टुरेन्ट र क्याफेहरूमा विशेष सजावट तथा अफरहरू सार्वजनिक गरिएका छन्।
यद्यपि केहीले यसलाई पाश्चात्य संस्कृतिको प्रभाव भन्दै आलोचना गरे पनि धेरैका लागि यो दिन प्रेम, सम्मान र सम्बन्धको कदर गर्ने अवसरका रूपमा स्थापित हुँदै गएको छ।