कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा रहेको कल्प पाठशालाले १६औँ वार्षिकोत्सव सरस्वती पूजा सहित विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। शुक्रबार आयोजित औपचारिक समारोहमार्फत विद्यालयले वार्षिकोत्सव मनाएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी प्रमुख अतिथि रहेका थिए।
नेतृत्व राम्रो भए विद्यालय सफल हुन्छ : डा. जोशी
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. जोशीले विद्यालयको सफलतामा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले आफूले करिब ३० वर्ष शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै नेतृत्व कमजोर हुँदा असफल भएका विद्यालयहरू समेत देखेको उल्लेख गरे।
कल्प पाठशालाले सक्षम नेतृत्व पाएको बताउँदै उनले विद्यालयले शैक्षिकसँगै नैतिक गुणस्तर उकास्न सफल भएको धारणा व्यक्त गरे।
नैतिक शिक्षामा जोड दिँदै विद्यालय
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउँदले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षामा पनि विशेष ध्यान दिँदै आएको बताए। उनले बालबालिकामा राम्रो संस्कार विकास गर्ने लक्ष्यका साथ विभिन्न गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिए।
६० विपन्न बालबालिकालाई निःशुल्क शिक्षा
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत शारीरिक रूपमा अपाङ्गता भएका, असहाय, अनाथ तथा आर्थिक रूपमा विपन्न करिब ६० जना बालबालिकालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्दै आएको अध्यक्ष साउँदले जानकारी दिए।
सम्मान कार्यक्रम
वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालयका पूर्व व्यवस्थापन समितिका पदाधिकारी तथा उत्कृष्ट अभिभावकहरूलाई पनि कार्यक्रममार्फत सम्मान गरिएको जनाइएको छ।