अत्तरिया स्थित सत्यबती एकेडेमीको दोस्रो चरणको अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न कैलालीको अत्तरिया स्थित सत्यबती एकेडेमीले आफ्नो दोस्रो चरणको अभिभावक दिवस तथा वार्षिकोत्सव आइतबार भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा शिक्षाविद् लक्ष्मी दत्त जोशीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक–शिक्षिका तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
सम्मानित पूर्व शिक्षकहरू यसप्रकार छन्:
१. ओमप्रकाश केसी
२. तारा बोहरा
३. कृति महत
४. सुरज कट्टेल
५. लक्ष्मी रावल
६. मनिषा पनेरु
७. अर्जुन देउबा
८. देवराज भट्ट
बालबालिकामाथिको लगानी खेर जान दिँदैनौं : प्राचार्य ध्याडी

अभिभावक दिवसलाई सम्बोधन गर्दै विद्यालयकी प्राचार्य यशोदा ध्याडी कडायतले सत्यबती एकेडेमीमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिइँदै आएको बताइन्।
उनले भनिन्,“२०८२ साल हाम्रो विद्यालयका लागि उपलब्धिमूलक रह्यो। शैक्षिक नतिजामा पनि हामी सफल भयौँ। कक्षा ८ र १२ को नतिजा सन्तोषजनक आएको छ।”
विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरू अहिले विभिन्न उत्कृष्ट शैक्षिक संस्थामा अध्ययनरत रहेकोमा खुशी व्यक्त गर्दै उनले अभिभावकको लगानी सुरक्षित राख्न विद्यालय सधैं प्रतिबद्ध रहेको बताइन्।
“अभिभावकको लगानी पूर्ण रूपमा सुरक्षित रहनेमा हामी सधैं ध्यान दिन्छौं। विद्यालयको शुल्कका विषयमा बाहिर फैलाइने हल्लाको पछि नलागी विद्यालयमै आएर बुझ्न अनुरोध गर्दछु। शुल्क अनुसारको शिक्षा र संस्कार हामीले दिएका छौँ,” उनले भनिन्।
उक्त विद्यालयमा हाल झण्डै २१ सय विद्यार्थी अध्ययनरत रहेका छन्।