देवभूमिको प्रवेशद्वारका रूपमा परिचित नेपालकै प्रसिद्ध तीर्थस्थल कैलालीको गोदावरीधाम कुम्भमेला क्षेत्रमा लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ।
गोदावरीधाममा आयोजना हुने मकर मेलाको समुद्घाटन २०८२ साल पुस ३० गते दिउँसो १ बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजा–आजासहित गरिने आयोजकले जनाएको छ। मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, गुरुकुलका वटुहरू तथा श्रद्धालुहरूको सहभागिता रहनेछ।
पुस ३० गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुने बाह्रराशि दर्शन मकर मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजन–कीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्।
गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीका अनुसार उक्त धार्मिक अनुष्ठानमा देशभरका श्रद्धालु महानुभावहरू तथा विभिन्न सामाजिक र धार्मिक संघ–संस्थालाई सहभागिताका लागि सादर अनुरोध गरिएको छ।
तयारी अन्तिम चरणमा
गोदावरी नदि किनारमा लाग्ने बाह्रराशि दर्शन मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। धाम समितीका सदस्य दिपेन्द्र अबस्थीका अनुसार धाममा लाग्ने मेलामा सहभागी हुने भक्तजनहरुको लागि स्नान कुन्ड ,कुम्भ बाटिकामा बाह्र राशीको स्थापना , बजार ब्यबस्थापन लगाएतको तयारी भैरहेको छ । यस्तै गोदावरी को मुख शिव मन्दिरमा सरसफाइ , सजावट लगाएतका कार्य पनि जारी रहेको छ ।