कैलालीको अत्तरियामा आयोजना हुन लागेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
न्यु सृजनशील युवा क्लबको आयोजनामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म अत्तरिया पूर्वरोडस्थित खुला चौरमा महोत्सव सञ्चालन हुने भएको हो।
महोत्सवका लागि स्टल, मुख्य मञ्च, बाल उद्यान, रमाइलो मेला लगायतका भौतिक संरचना जडान भइसकेका छन्। मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष नरबहादुर राईका अनुसार महोत्सवका आधारभूत संरचनाको तयारी पूरा भइसकेको छ भने कलाकारहरूको सूचीसमेत अन्तिम चरणमा पुगेको छ।
महोत्सवमा करिब १८० भन्दा बढी स्टल रहने छन्। साथै, थारु समुदायको मौलिक पहिचान झल्किने थारु गाउँ र थारु खानाका विभिन्न परिकारसहितको विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा दुर्गेश थापा, पल शाह, समीक्षा अधिकारी, एलिना चौहान, चक्र बम, हिमाल सागर, रामजी खाँण, पशुपति शर्मा र प्रकाश सपूत लगायत चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।
महोत्सव नयाँ स्थलमा
यसपटक महोत्सव नयाँ स्थलमा आयोजना हुन लागेको हो। यसअघि अत्तरिया उद्योग वाणिज्य संघले पूर्वरोडस्थित लामिताल परिसरमा महोत्सव आयोजना गर्दै आएको थियो।
तर यस वर्ष बजार नजिकै, अत्तरिया चोकसँग जोडिएको खुला चौरमा महोत्सव हुने भएकाले दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।
अत्तरियामा महोत्सवको श्रंखला
अत्तरियामा महोत्सवको सुरुवात बिप्लव इन्टरटेनमेन्ट ग्रुपले गरेको इतिहास रहेको छ। संस्थापक विनोद मल्लको अगुवाइमा २०६६ मा महोत्सव शुरु भएको हो । केही वर्षसम्म उक्त संस्थाको आयोजनामा महोत्सव संचालन भयो ।
त्यसपछि सृजनशील युवा क्लबले निरन्तरता दिएको र अत्तरियामा उद्योग वाणिज्य संघ गठन भएपछि क्लबले महोत्सव संघलाई हस्तान्तरण गरेको थियो।
यद्यपि, केही वर्षअघि उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव नक्कली ठेली प्रकरणका कारण विवादमा परेपछि पछिल्ला दुई वर्ष महोत्सव हुन सकेको थिएन।
यस वर्षदेखि पुनः न्यु सृजनशील युवा क्लबले नै महोत्सवलाई निरन्तरता दिएको हो।