धनगढी, जेठ २० – सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको पहलमा मंगलबार धनगढीमा “प्रकृतिप्रेमीको आँखामा सुदूरपश्चिम” नामक कार्यक्रम सम्पन्न भएको छ।
प्रदेशसभा कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रलाई विकासको मुख्य आधार बनाउँदै जानुपर्ने धारणा व्यक्त गरे।
उनले खप्तड, वडीमालिका, रामारोशन जस्ता पर्यटकीय क्षेत्रको नयाँ तरिकाले विकास भइरहेको जनाउँदै कैलालीको टीकापुर र भजनी क्षेत्रमा पाइने डल्फिन संरक्षण तथा डल्फिन पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन हुने जानकारी दिए।
साथै मन्त्रालयसँग रहेको ५५ करोडको बजेटले पर्यटन र उद्योग प्रवर्द्धनमा कठिनाइ भइरहेको उल्लेख गरे।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले माउन्टेन फ्लाइट, केबुलकार तथा इको-पर्यटनजस्ता अवधारणामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा सहभागी धेरैले पर्यटनलाई छुट्टै मन्त्रालयमा लैजानुपर्ने धारणा व्यक्त गरे। प्रदेशसभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्टलगायतले हालको मन्त्रालय संरचनामा पर्यटनको समुचित विकास हुन नसक्ने बताए।
कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई ‘देवभूमि’ र प्राकृतिक एवं सांस्कृतिक धरोहरको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। माओवादी केन्द्रका नेता खगराज भट्टले योजनाबद्ध, जिम्मेवार र इमान्दार राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र रहेमा मात्र मुलुकको पर्यटन क्षेत्र अगाडि बढ्ने बताए।
पर्यटन विकासमा गहिरो रुचि राख्ने क्याप्टेन वेद उप्रतीले कर्णाली र मोहनामा डल्फिन सेन्टर निर्माण, खप्तडमा स्की खेल तथा शुक्लाफाँटामा बाह्रसिंगे हेर्न सकिने छुट्टै क्षेत्र विकास गर्न सुझाव दिए। व्यवसायी ओम विष्टले नदीमा पाइने डल्फिनको संरक्षण र दीर्घकालीन व्यवस्थापन आवश्यक भएको बताए।
पर्यटनकर्मी गणेश मगरले पूर्वाधार, प्रचारप्रसार, हवाई टिकटको महङ्गोपन, ड्रोन अनुमति लगायतका समस्या पर्यटन विकासका मुख्य बाधक रहेको उल्लेख गरे।
वनस्पति अध्ययन केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम प्रदेश जडीबुटी तथा वनस्पति अध्ययनको दृष्टिले ‘भर्जिन क्षेत्र’ भएको उल्लेख गर्दै यसको संरक्षण र उपयोगमा जोड दिए।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, पर्यटन व्यवसायी प्रकाश भट्ट, लक्ष्मीनारायण चौधरी, सीताराम जोशी, पदमविक्रम सिंह, रविन पन्त , पर्यटन पत्रकार समाजका अध्यक्ष अमर भट्टराई लगायतको सहभागिता रहेको थियो।