नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताए ।
राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै कोइरालाले अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट आफूहरू नडराउने बताए ।
बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर कोइरालाले आफ्नो पार्टी कसैको धम्कीले नडराउने बताएका हुन् ।
'कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ कोइरालाले भने ।
देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको कोइरालाले बताए । ‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्न सक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ,' उनले भने ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको उनको दाबी छ ।
'साथीहरूले एउटा कुरा भन्नुभयो, तपाईंहरूले गृहमन्त्रीलाई बोल्न दिनु भएन । बोल्न दिन हुन्छ कि हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ । तर, हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ,' कोइरालाले भने, 'हामीले गृहमन्त्रीले आएर रोस्ट्रममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठीक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ, न त एमालेले स्वीकारेको छ । यो क्लियर हुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो ।'
सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नु गम्भीर प्रकृतिको विषय बनेको कोइरालाले तर्क गरे । आफूहरूले गृहमन्त्री रवि लामिछानेको राजीनामा पनि नमागेको उनले बताए ।