सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पाउने औपचारिक सहमति भएको छ। बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए।
‘सुदूरपश्चिम मुख्यमन्त्री हामीले नै पाउने यसअघि पनि अनौपचारिक सहमति थियो। आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएको छ। आइतबार अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्छौं,’ उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने बताएका थिए। त्यसपछि आलोपालो अनुसार दुई वर्षपछि एकीकृत समाजवादीलाई नाउपाले मुख्यमन्त्री छाड्न सहमति भएको छ।
नाउपाले मुख्यमन्त्री पाउने भए पनि कसले नेतृत्व गर्ने भनेर पार्टीभित्र विवाद छ।अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन्। अर्को तर्फ लक्ष्मणकिशोर चौधरीलाई नाउपाका बहुमत सांसदले मुख्यमन्त्रीको रुपमा अघी सारेका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।
सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा (एमाले)सँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन्। एक स्वतन्त्र र एक राप्रपाका सांसद यँहा छन ।