नागरिक उन्मुक्ति पार्टीको बिबादले उग्र रुप लिएको छ। फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई लिएर चर्किएको विवादले सोमबार थाप उग्र रुप लिएको हो ।
सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा कुटाकुटको अवस्था ल्याएको हो।
आइतबार अनामनगरमा बसेको उक्त बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।
पार्टी केन्द्रीय कार्यालय अनामनगरमा कुटाकुट हुनुअघि दुई पक्षबीच सुदूरपश्चिम सरकारमा सहभागी हुने र नहुने विषयमा चर्को विवाद भएको थियो।
‘अनामनगरको बैठकमा हामी ५ जना सहभागी थियौँ। बैठकमा नै हाम्रो टिमलाई नै आक्रमण गरिएको हो’, टीकापुरका मेयर रामलाल डगौराले भने, ‘मसहित साथी रमेश विकमाथि आक्रमण भयो। हामी टीकापुर महाधिवेशनको सन्देश र निर्वाचन आयोगको निर्णयअनुसार अघि बढ्नुपर्ने पक्षमा थियौँ। रेशमजीलाई अध्यक्षको मान्यता नदिएको अवस्थामा निर्वाचन आयोगको निर्णयअनुसार चल्नु पर्ने कानुनी बाध्यता पनि छ। त्यही कुरा हामीले राख्दा बैठकमै आक्रमण गरियो।’
उता पार्टीका संस्थापक रेशमलाल चौधरी भने बाहिर मिडियामा आए जस्तो कसै माथी आक्रमण नभएको दाबी गरेका छन ।
सामाजिक सन्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै उनले भनेका छन,'पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।'