काठमाडौं - आज ८ मार्च । अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।
नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक बिदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।
आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।
मन्त्रालयले संघीय सरकारका सबै निकाय, ७ वटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं वडाहरु, नागरिक समाज लगायत सरोकारवाला सबैलाई दिवस मनाउन आह्वान गरेको छ ।
दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।