बैतडी - इस्ट इन्डिया कम्पनीसँगको लडाइँका बेला निर्माण गरिएको बैतडीको शर्मालीगढी किल्ला पुनर्निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ। शिवनाथ गाउँपालिकाले चार करोड रुपियाँको लागतमा डीपीआर तयार पारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ।
शिवनाथ गाउँपालिका–२, शर्मालीस्थित ऐतिहासिक किल्लाको डीपीआर तयार पार्न पाँच लाख रुपियाँ खर्च भएको गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनका अनुसार डीपीआर तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको छ। डीपीआरमा किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्लावरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न चार करोड रुपियाँ खर्च हुने देखिएको छ। गाउँपालिकाको बजेटले किल्ला पुनर्निर्माण गर्न नसकिने भएकाले आवश्यक बजेटका लागि मन्त्रालयमा विस्तृत अध्ययन प्रतिवेदन बुझाएको उनले बताए ।
सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा सामरिक महत्त्वका हिसाबले बैतडीको शर्मालीगढी किल्ला महत्त्वपूर्ण किल्ला हो। अङ्ग्रेजसँगको लडाइँका बेला डडेल्धुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको थियो।
नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला देशको रक्षा गर्न शर्मालीगढी किल्ला निर्माण भएको थियो। किल्लाको संरक्षण हुन नसक्दा त्यहाँ रहेका महत्त्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन्। शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जीर्ण बनेर भत्केपछि किल्लाका ढुङ्गा छरपस्ट अवस्थामा छन्। किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाइमा किल्लासम्म पुग्ने २६३ मिटर बाटो बनाइएको शिवनाथ गाउँपालिकाका अध्यक्ष साउदले बताए ।
समुद्री सतहबाट १४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन्। शर्मालीगढी किल्ला चारैतिर रानी सल्लाको घना जङ्गलले घेरिएको छ। ४९५ हेक्टर क्षेत्रफलमा फैलिएको यो घना वन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो र धनी सामुदायिक वन रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ।
शर्मालीगढी किल्ला हेर्न बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको ३४ किलोमिटर सडक यातायात पार गरेपछि शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान पुगिन्छ।