धनगढी - धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँको प्राकृतिक तौलाहा ताल व्यवस्थापन गरिएको छ। सो ताल बेवारिस अवस्थामा रहेको थियो। वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरीका अनुसार पर्यटन प्रवद्र्धनको उद्देश्यसहित प्राकृतिक तालको व्यवस्थापन गरिएको हो। यो ताल अब पर्यटकीय गन्तव्य बन्ने अपेक्षा पालिकाको छ। सो व्यवस्थित तालबाट सङ्कलन हुने राजस्वको केही प्रतिशत वडा कार्यालयले पाउने छ।
उनका अनुसार तौलाहा ताल करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको छ तर पानीले ओगटेको क्षेत्र भने कम छ। ताललाई व्यवस्थित गरेर वाटर पार्कजस्तै बनाइएको छ। पानीबाहेकको भागमा टायल बिच्छ्याउनुका साथै किनारमा चारैतिर दुबो राखिने बताइन्छ। बोरिङ जडान गर्ने कार्य भइरहेको बताइन्छ। ताल क्षेत्रलाई उज्यालो बनाउन पाँचवटा पोलमा सेन्सरयुक्त बत्ती राखिँदै गरेको वडाध्यक्ष चौधरीले बताए। पर्यटकीय स्थल बनाउने उद्देश्यसाथ क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको लगानीमा ताल व्यवस्थापन गर्ने कार्य भइरहेको हो। यसको लागत भ्याटसहित दुई करोड ३४ लाख रुपियाँ रहेको छ। आर्थिक वर्ष २०७६र७७ मा ठेक्का भएको थियो। सो ताल व्यवस्थापनको कार्य धनगढीकै रोयल पवन जेभीले ठेक्का पाएर काम गरिरहेको छ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रबन्ध निर्देशक महेश महराले बताए। उनका अनुसार विस्तृत परियोजना प्रतिवेदनअनुसार ताललाई सौन्दर्यीकरण गर्न सकिएको छैन। बजेट कम भएकाले कतिपय संरचना बनाइएको छैन। चैतदेखि कम्पनीले भुक्तानीसमेत नपाएको गुनासो उनको छ।
ताल व्यवस्थापनका लागि दुई वर्षको समयावधि रहेको थियो तर कोरोना र विवादका कारण केही समय काम रोकिएको थियो। प्राकृतिक ताल मासेर सिमेन्टको संरचना बनाउन नदिने भन्दै धनगढी गाउँका रानाथारू समुदायले विरोध जनाएपछि एक वर्षसम्म काम ठप्प भएको महराले बताए। उनका अनुसार विवाद मिलेपछि पुनः काम अघि बढ्यो। अहिले समस्या छैन। आदिवासी जनजाति रानाथारू समुदायले पहिलेदेखि तौलाहा तालबाट माटो निकालेर घर लिपपोतको काम गर्दै आएका थिए। उनीहरूले कुलदेवता (भुइँया पुज्न)का लागि माटोले लिपपोत गर्दछन्। लिपपोतबिना चोखो नमान्ने चलन छ।
प्राकृतिक ताल मासेर आधुनिक संरचना निर्माण गरेमा कुलदेवता पुज्नका लागि आफूहरूले माटो नपाउने तर्क रानाथारू समुदायको थियो तर धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा, तालतलैया नगरपालिकाको मातहतमा रहने र व्यक्ति वा समुदायले प्रयोग गर्न नपाउने निर्णय गरेपछि निर्माणको काम अघि बढेको वडाध्यक्ष चौधरीले बताए। उनले भने, “अहिले विवाद वा विमति कसैको पनि छैन। ताल व्यवस्थित भएमा यहीँका बासिन्दालाई पनि फाइदा हुनेछ।”
व्यवस्थापनसहित सौन्दर्यीकरण गरिएको ताललाई पर्यटन गतिविधि सञ्चालन गर्न ठेक्कामार्फत निजी क्षेत्रलाई दिने योजना धनगढी उपमहानगरपालिकाको छ।