डडेल्धुरा- डडेल्धुरामा बाघको हड्डीसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका संचालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार दुवैजनालाई शनिबार राति साढे १२ बजे अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।
डिएसपी भट्टका अनुसार प्रहरी टोलीले उनीहरूले बोकेको झोला चेकजाँच गर्दा झोलामा रहेको संरक्षित वन्यजन्तुको आखेटोपहारको जस्तो देखिने वस्तु फेला परेकाले पक्राउ गरिएको हो ।
झोलाबाट प्रहरीले चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नलि हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान हड्डी बरामद गरेको छ ।
बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको छ ।