काठमाडौं - तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि बाघ वर्ष पूरा गरी बिरालो वर्षमा प्रवेश गरेको मानिन्छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन्।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।