काठमाडौं - पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान आजदेखि सुरु हुँदै छ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।
व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ। सो पुराणका अनुसार महादेवपत्नी सतीदेवीले बाबुले आफ्ना पति महादेवलाई गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि ‘महादेव पति पाऊँ’ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ। तर, विवाह गर्ने बेला भएपछि हिमालयले भगवान् विष्णुसँग पार्वतीको विवाह गरिदिने भए।
विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने गरिन्छ। सो क्रम माघ शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ र अन्त्यमा साङ्गे गर्ने चलन रहेको छ।
यसरी विधिपूर्वक व्रत गरेमा स्वस्थानी देवीको व्रतप्रभावले बिछोडिएका जोडीको पुनर्मिलन हुने, रुग्ण भए ठीक हुने र बिहे नभएकाले इच्छा गरेअनुरूप पति वा पत्नी पाउने, बिहे भएकाले सौभाग्य प्राप्त गर्ने, विधवा वा विधुर भइसकेकाले अर्को जन्ममा दाम्पत्य जीवनको सुखभोग प्राप्त गर्न पाउने स्वस्थानी महात्म्यमा बताइएको छ।
यो अवधिमा पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।