टीकापुर - कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएको छ। हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण शुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो।
माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ। स्थानीय सरकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको कम्पनीको गुनासो छ।
सडकको पहिलो खण्ड अर्थात् लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको कालिका कुमार जेभीका साइड प्रमुख हरिनाथ योगीले काम भइरहेको बताए। उनले कोरोनाका कारण भएको बन्दाबन्दी, बर्सातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताए।
सडकको ६५ प्रतिशत काम सम्पन्न गरेको दाबी उनले गरे। सडकको एक हजार आठ सय मिटर कालोपत्र गरिएको र आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने उनको भनाइ छ। 'हामी धमाधम काम गरिरहेका छौँ आगामी जेठ मसान्तसम्म सबै काम सक्नेगरी काम थालेका छौँ', उनले भने, 'अब ढिलाइ हुँदैन। नदीजन्य पदार्थको आपूर्तिमा समस्या भएका कारण पनि काममा अवरोध भएको छ । सहयोग र समन्वय भनेअनुसार पाएका छैनौँ।'
दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले निर्माण गरिरहेको छ। दुई निर्माण कम्पनीको प्रगति पहिलो खण्डको भन्दा कम छ। एपेक्स खड्का कृष्ण जेभीको पहिलो चरणको सम्झौता म्याद नै सकिएको छ। म्याद सकिँदासम्म सडकको ४० प्रतिशत काम सम्पन्न भएको साइड इञ्चार्ज प्रमोदकुमार मण्डलले बताए।
उनले पनि माटोको अभावका कारण काम गर्ने सिजनमा खाली बस्नुपर्दा समयमा काम सम्पन्न गर्न नसकिएको बताए। 'सबैभन्दा बढी समय माटोको खोजीमा बित्यो। त्यसपछि बिजुली पोल, खानेपानी पाइप र कोरोनाका कारण पनि काममा प्रभावित भयो।' उनले भने, 'सडकक बेसको काम करिब सम्पन्न भइसकेको छ। बेसको काम पूरा भएपछि कामको प्रगति देखिने छ।' सडकको म्याद एक वर्ष थपका लागि निवेदन दिएको उनले बताए।
तेस्रो खण्डको सडक निर्माणको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीका साइड प्रमुख चन्द्र लम्सालको गुनासो पनि उस्तै छ। उनले स्थानीय सरकारकै सहयोग नपाएको गुनासो गरे। 'हामीले सडकको लागि एक वर्ष पहिला नै क्रसरका लागि अनुमति मागेका थियौँ । बल्ल अहिले अनुमति पाएका छौँ।'
उनले भने, सडकको बेसको लागि चाहिने माटो र ग्राभेल नपाउँदा त्योभन्दा बढी समस्या भएको थियो। अहिले आएर समस्या समाधान हुँदै जाँदा कामले गति लिएको उनको भनाइ छ। काम गरिरहेको आयोजनाको म्याद यहीँ पुस १३ गते सम्पन्न हुँदैछ। उनका अनुसार सडकको काम सम्पन्न गर्न अर्को असारसम्म लाग्नसक्ने देखिएको छ।
उक्त सडक लम्की बजारबाट दक्षिणतर्फ झण्डै दुई किलोमिटर, टीकापुर बजार क्षेत्रमा झण्डै चार किलोमिटर र अन्य क्षेत्रमा गरी सात किलोमिटर चार लेनको बाटो हुनेछ भने बाँकी दुई लेनको हुनेछ। पहिलो खण्डको आठ किलोमिटर सडकका लागि २०७७ जेठ २८ गते रु ४० करोड १९ लाखमा सम्झौता भएको थियो।
दोस्रो खण्डको १० किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते रु ४० करोड ९९ लाखमा सम्झौता भएको थियो भने त्यसको गएको मङ्सिर २६ गते सम्झौता म्याद सकिएको छ। त्यस्तै तेस्रो खण्डको लागि २०७७ असार १४ गते रु ३३ करोड २० लाखमा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको थियो। रासस