भीमदत्त नगरपालिका १२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ। परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ।भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ।
'बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन,' उनले भने, 'तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन।' आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ।
यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताइन्। 'चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ,' लक्ष्मी सोनाहले भनिन्, 'दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन।'