अत्तरिया - शुक्रबार कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।
अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।
कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् । आजका दिन व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।