टीकापुर- कैलालीको टीकापुर पर्यटकीय क्षेत्र टीकापुर पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पार्कमा कञ्चनपुर, सुर्खेत, दाङ, बाँके, बर्दियाबाट पर्यटक आएका छन् भने तिहारपछिको रमाइलो गर्न टीकापुर र आसपासका मानिस बढी मात्रामा आउन थालेका छन् ।
टीकापुर पार्क पर्यटक र उनीहरू चढेर आएका बस, कार, जिप, ट्याक्टर, अटोरिक्सा र मोटरसाइकलले भरिने गरेको छ । उनीहरू पार्कमा वनभोज खाने, रमाइलो गर्ने उद्देश्यले आउने गरेका छन् । अघिल्लो दिन शुक्रबार २ हजार ६ सय जना पार्कमा आएका थिए । खजुरा बाँकेकी पूजा केसीले टीकापुर पार्क साथीहरूले भनेको भन्दा धेरै राम्रो लागेको बताइन् ।
यस्तै वीरेन्द्रनगर–६ का दिनेश ढकालले आफू तेस्रो पटक भ्रमणमा आएको र पार्कको सुन्दरता कायमै रहे पनि मानिसको चापअनुसार पार्क विस्तार गरी नयाँ आकर्षण थप्नुपर्ने सुझाव बताइन् । १३ बिघा क्षेत्रफलमा रहेको टीकापुर पार्कमा महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम वाटिका निर्माण भएका छन् ।
यसका साथै रत्न उद्यान, ऐश्वर्य उद्यान पनि रहेकाले यसलाई ऐतिहासिक, वातावरणीय हिसाबले महत्तवपूर्ण मानिन्छ । पार्कसँगै कर्णाली नदी र टीकापुरमा केराका परिकार खान पाइने भएकाले यहाँ बच्चादेखि बुढासम्म भ्रमणका लागि आउने गरेका छन् ।
पार्क भ्रमणमा आउने पर्यटक बढेका बेला यहाँका होटल, रेस्टुरेन्टलाई भ्याइनभ्याई हुने गरेको बनानाज रेस्टुरेन्टकी सञ्चालक माया चौधर बताइन् । पार्कमा पर्यटकको घुइँचो हुने पूर्वानुमानका साथ पर्याप्त कर्मचारी, सुरक्षाका लागि नेपाल प्रहरी, नगर प्रहरी र म्यादी प्रहरी पनि खटाइएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारूले बताए
। टीकापुर पार्कमा दशैँ, तिहार, नयाँ वर्षका आसपासका दिनमा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा पनि एक लाख २५ हजार पर्यटक पार्क प्रवेश गरेका थिए, जसको प्रवेश शुल्क मात्रै ४० लाख ९४ हजार उठेको थियो ।
कोरोनाका कारण कहिले खुल्ने कहिले बन्द हुने अवस्थामा रहेको टीकापुर पार्क यस वर्ष भने राम्ररी खुलेकाले यो सङ्ख्या वृद्धि हुने पार्कका इन्चार्ज कुँवरको अनुमान रहेको छ ।
तत्कालीन राजा महेन्द्रलाई २०२४ चैत २ मा मुटुको व्यथाले च्यापेपछि टीकापुरमा बसेर आराम मिलेपछि विकास गरिएको टीकापुर पार्क बङ्गला पार्कका नामले परिचित रहेको छ ।