डोटी- दिपायल र डोटीमा कृषकले व्यावसायीक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायीक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् ।
डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायीकरुपमा सुन्तला खेती गर्दै आएका छन् । उनले आफ्नो जमिनमा सानाठुला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि सुन्तलालाई खेती गरी वार्षिकरुपमा ७ लाखदेखि ९ लाखसम्म आम्दानी हुँदै आएको उनले बताए ।
विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु ।”, उनले भने, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यावसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।
अन्य खेतीमा पटकपटक मेहनत गर्नुपर्ने भए पनि सुन्तलाखेतीमा वर्षका एक–दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिकरुपमा ७ लाख आम्दानी गरिरहेको बताए ।
सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उनले आफ्नो ४ लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताए । स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उनको भनाइ रहेको छ ।
यससँगै डोटीका जोरायल , बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए ।
साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उनले बताएको छ । रासस