बाजुरा- बाजुरामा पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध बनेको जिल्लाको साँफे–मार्तडी राजमार्ग संञ्चालनमा आएको छ । अम्कोट बल्दे सडकलाई स्थायी रुपले सुचारु गर्न नसकिए पनि स्थानीयको सहजताका लागि तिहार अगावै अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय अछामले बताएको छ ।
सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले, अम्कोट बल्दे सडकलाई भदौमै सञ्चालनमा ल्याउनेगरी काम सुरु गरेको भए पनि पानी परेपछि काममा ढिलाइ भएको बताए । पानी पर्न रोकिएपछि आज अर्थात बुधबार बाट अस्थायीरुपमा साँफे मार्तडी सडक अन्तर्गत पर्ने बल्दे सडक संञ्चालनमा ल्याइएको उनले बताए ।
लामो समय सडक सञ्चालन नआउँदा बाजुराका स्थानीयवासीलाई दशैंको समयमा दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गन एकदमै समस्या भएको थियो । बाजुरा सडक सञ्चालनमा आएपछि यतिबेला जिल्लाका बडिमालिका, गौमुल, बूढीनन्दा, स्वामीकार्तिक, जगनाथ, हिमाली गाउँपालिका लगायतका स्थानीयलाई धनगढी महेन्द्रनगरबाट सिधै मार्तडीसम्म आउजाउ गर्न सहज भएको स्थानीयले बताएको छ ।
पाँच महिनासम्म बल्दे सडक अवरुद्ध हुँदा दशैं तिहारलाई दृष्टिगत गर्दै सुदूरपश्चिमको मुख्य व्यापारिक शहर धनगढीबाट लत्ताकपडा जुता चप्पल, लगायतका दैनिक उपभोग्य नुन तेल दाल चामलजस्ता खाद्यान्न सामग्री मार्तडी ल्याउन समस्या भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले, सडक डिभिजन कार्यालय अछामलाई अवरुद्ध भएको साँफे मार्तडी सडक अन्तर्गत पर्ने अम्कोट सडकको पहिरो पन्छाएर सवारी साधान सुचारु गर्न आग्रह गर्दै आएपछि पाँच महिनापछि साँफे मार्तडी सडक सुचारु भएको जनाइएको छ ।