काठमाडाै- नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन्।विहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर देशलाई द्वन्द्वतिर धकेलेको बताएका हुन्।
सरकार विदेशी शक्तिसँग थर्कमान भएर घुँडा टेकेर जनता र जनताका प्रतिनिधिहरूलाई एसपिपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए। उनले एसपिपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको तर्क गरे।
जनताका प्रतिनिधिलाई अविश्वास गर्ने र परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपिपीमा सहभागी हुन्नौ भन्ने पत्र सांसदले माग्दा सरकारप्रति अविश्वास गर्ने भन्दै प्रश्न गरेको, सरकार नै जनता र संसदप्रति जवाफदेही नभएको आरोप लगाए।सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उनले उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए।
‘सरकारका सम्बन्धित मन्त्री जी, मन्त्रालयबाट अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपिपीसँग सम्बन्धित सम्पूर्ण दस्ताबेज र कागजात यस समितिलाई उपलब्ध गराउन आग्रह गरेका थियौँ। यो सरकारका सम्बन्धित मन्त्री जीले यो समितिले मागेका दस्ताबेज, कागजात किन उपलब्ध गराउनु हुन्न?’
उनले भने, ‘परराष्ट्रमन्त्रीले एसपिपीको पत्र पठाइसकेको भनेर जवाफ दिएको कुरा सुनेको थिएँ त्यसपछि पत्र माग्दा उनले पत्र पठाइसकेपछि सरकारसँग पत्र माग्ने कुरा कताकता अविश्वास ? कताकता होइन, धेरै अविश्वास छ।’
सरकार विदेशीलाई पहिलो प्राथमिकतामा राख्ने र विदेशी सामु लम्पसार पर्ने स्थितिमा रहेको र लोकतन्त्रविरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाए।