बुटवल - प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलै अत्याचार गरेपछि वर्तमान गठबन्धन बनेको बताएका छन् । ओलीले जथाभावी संसद भंग गर्ने र मनोमानी गर्न थालेपछि नै लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ छ ।
शनिबार बुटवलमा आयोजित सत्ता पक्षीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संविधानले कसैलाई पनि जथाभावी संसद विघटन गर्ने छुट नदिएको बताएका हुन् ।
आफ्नै पार्टीभित्रको विपक्षी समूहले विरोध गरेकै भरमा पूर्व प्रधानमन्त्री ओलीले संसद विघटन गरेको स्मरण गराउँदै देउवाले भने, ‘ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो । विरोध सहन नसकेर जथाभावी संसद भंग गरे । यसरी जथाभावी गर्नलाई संविधानमा व्यवस्था नै छैन ।’
साथै,उनले शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।
उनले भने , ‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’,
ओलीको पालामा जनता, कर्मचारी, पुलिस सबैलाई थर्कमान पारिएको भन्दै उनले आफ्नो सरकार आएपछि भने जनताले सुखको स्वास फेर्न पाएको जिकिर गरे । ‘अहिले सरकारबाट कसैलाई केही कुनै त्रास छैन,’ उनले भने, ‘बोल्न र लेख्न सबैलाई छुट छ ।’
देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औंल्याए ।