धनगढी - धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्।
यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्।नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार चयन गरेको थियो।
यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार सुदूरपश्चिममा प्रदेशमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ८२१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि अहिले सम्म ३र३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा गोपाल हमाल र मदन कृष्ण भट्ट रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीबाट बसन्त बहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जानकारी गराएको छ ।
त्यस्तै उपप्रमुखमा विवेकशील साझा पार्टीबाट विमला पन्त ओझा, राप्रपाबाट दुर्गा दत्त पन्त र स्वतन्त्रमा प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले जानकारी दिएको छ ।