धनगढी -वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले डोटी जिल्लाका नौ वटै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।
जस अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायत उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र उपप्रमुखमा लक्ष्मी मल्ललाई चयन गरिएको छ ।
पूर्वीचौकी गाउँपालिकाको अध्यक्षका लागि कृष्णकुमार खड्का र उपाध्यक्षमा शारदा साउँदलाई छानिएको छ । बढीकेदार गाउँपालिकाको अध्यक्षमा चक्रबहादुर घर्ति र उपाध्यक्षमा सपना सिराडीलाई चयन गरिएको छ ।
आदर्श गाउँपालिकाको उपाध्यक्षमा जानकी खड्का र बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा ज्ञानु मल्ल बमलाई चयन गरिएको छ ।
अन्य पाँच पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जोरायल गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा, सायल गाउँपालिकाको अध्यक्षमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष बिष्नादेवी सिंह, केआई सिंह गाउँपालिकाको अध्यक्षमा तेजबहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवर सर्वसम्मत भएका थिए ।
यस्तै बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर बुढा र आदर्श गाउँपालिकाको अध्यक्षमा डम्मरबहादुर वलीलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये एमालेले पाँचमा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रमुख जितेको थियो ।