अत्तरिया - सुदूरपश्चिममा होलीका दिन थुप्रै दुर्घटनाहरु भएका छन् । यस प्रदेका बिभिन्न जिल्लामा छुट्टा छुटै भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलालीमा २ जना र अछाम तथा बझाङमा एक एक जना गरी ४ जनाको मृत्यु भएको हो ।
कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका ४ असनेरीमा दुइ मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो ।
यस्तै एकजना घाइते भएको प्रहरीले जानकारी दिएको छ। से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
यस्तै अर्का दिवस चौधरी घाइते भएको बताइएको छ। प्रजापतीको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको होे भने अन्जीलको टीकापुरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।
यस्तै अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलिगाउ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो ।
बिहीबार से६प१८९९ नम्बरको दुर्घटनामा परि मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उता बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार सुरेश कुवँरको मृत्यु भएको छ । शुक्रबार २ः३० बजेको समयमा झापा बजारदेखि बिजगडा जाने क्रममा तम्तोलीमा मोटरसाइकल दुर्घटना हुँदा कुँवरको मृत्यु भएको हो ।
उनले चलाएको सु प प्र ०१–०१० प ७०९० नम्बरको मोटरसाइकल सडक भन्दा ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको देउरा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनी बुंगलको सेरोफेरो एफएममा कार्यरत थिए ।