कैलाली - सुदूरपश्चिम प्रदेशमा एप्रोन खरिद प्रक्रियामा अनियमितता नभएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दाबी गरेको छ ।
प्रदेशसभाको सार्वजनिक लेखा समितिले बजार मूल्य भन्दा ६ गुणा बढीमा खरिद गरेको भन्दै छानबिन प्रक्रिया थालेपछि कृषि मन्त्रालयले आईतबार एक विज्ञप्ति निकाल्दै एप्रोन सहितका विभिन्न १५ वटा सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी गरेको हो ।
‘हामीले सार्वजनिक खरिद ऐनको व्यवस्थामा टेकेर प्रतिस्पर्धाका आधारमा एउटै ठेक्कामा एप्रोन लगायत विभिन्न १५ वटा सामग्री खरिद गरेका हौँ ‘लेखा समितिले सार्वजनिक गरेको प्रतिवेदन जस्तो प्रक्रियामा कुनै खालको त्रुटि भएको छैन मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले भनेका छन् ।
एप्रोन, भ्याक्सिन बक्स, मास्क, पञ्जा, सिरिन्ज, निडललगायत १५ वटा सामग्री खरिदका लागि आपूर्तिकर्ताबाट दररेट माग गरेर एक करोड २१ लाख लागत अनुमान स्वीकृत गरिएको उनले बताए ।
२०७७ कात्तिक २ गते राष्ट्रिय स्तरको पत्रिकामा ३० दिने सूचना जारी गरेकोमा बोलपत्र नपरेपछि पुनः ७ मंसिरमा बोलपत्रको सूचना प्रकाशित गरिएको प्रवक्ता बोहराको दाबी छ ।
सूचना प्रकाशित भएको १६ औँ दिनमा २२ मंसिरमा बोलपत्र खोल्दा तीनवटा आपूर्तिकर्ताको बोलपत्र परेकोमा रितपूर्वक सबैभन्दा कम अंक कबोल गरेको जिएच मिडिहेल्थ कनसर्न प्रालीले एक करोड १२ लाखमा ठेक्का प्राप्त गरेको बोहराले बताए ।
उनले मन्त्रालयले १४ वटा अन्य सामग्री खरिद गर्ने क्रममा ४५०० एप्रोन प्रतिवटा भ्याट बाहेक १०३८ बजारमा त्यो सामग्रीको मूल्य अहिले कति छ भन्ने कुराले अर्थ नराखे बताउदै उनले त्यो बेला के–कति थियो भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए ।
डिस्पोजल एप्रोन खरिदमा बेला बजार मूल्य भन्दा ६ गुणा बढीमा खरिद गर्दै अनियमितता गरेको भन्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन प्रक्रिया थालेको थियो ।