अत्तरिया - सरकारले देशभरका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
जसमा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका २० स्थानीय तह रहेका छन् । संकटग्रस्त क्षेत्र घोषणा हुनेमा डडेलधुराका पाँच स्थानीय तहमा नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका रहेका छन् ।
बझाङका चार स्थानीय तहमा थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका रहेका छन् ।
यस्तै डोटीका पाँच स्थानीय तहमा दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन् ।
यस्तै बाजुराका दुइ स्थानीय तहमा हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका दुई स्थानीय तहमा सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाका दुई स्थानीय तहमा दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका छन् ।