अत्तरिया – निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने अत्तरिया स्थित हाईटेन्सन बिद्युत टावर हटाउने बिषयमा अझै अन्योलता कायम रहेको छ । उक्त हाईटेन्सन बिद्युत टावर हटाउन नेपाल बिद्युत प्रबिधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले स्टिमेट तयार पारेको भएपनि टावर हटाउन बजेट बिनियोजन हुन नसक्दा अन्योलता कायम भएको हो । बिद्युत प्रबिधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले हाईटेन्सन बिद्युत टावर हटाउनको लागि केन्द्रमा पत्र पठाईसकेको भएपनि केन्द्रबाट कुनै जानकारी नआएको नेपाल बिद्युत प्रबिधिकरण क्षेत्रीय कार्यालय अत्तरिया क्षेत्रीय प्रमुख सतिस कुमार कर्णले बताए ।
उनले यस अघि हाईटेन्सन बिद्युत टावर हटाउनको लागि स्टिमेट तयार पारेर मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयमा समेत पठाएको भएपनि सडक कार्यालयबाट पनि कुनै प्रतिक्रिया नआएको बताए । १ करोड भन्दा बढीको रकम हाईटेन्सन बिद्युत टावर हटाउन आवश्यक पर्ने भएकाले यसका लागि कार्यालय संग बजेट नभएको कर्णले बताए । ‘यस अघि पनि सडकमा भएका बिद्युत पोल मोहनापुल अत्तरिया सडक आयोजनाले नै हटाएकाले हाईटेन्सन बिद्युत टावर पनि आयोजनाले नै हटाउनु पर्छ ।’ प्रमुख कर्णले भने– ‘हामीले टावर हटाउन प्राबिधिक सहयोग गर्न हामी गर्न तयार छौ तर यसलाई हटाउने काम भने आयोजनाको हो ।’
उता मोहनापुल अत्तरिया सडक आयोजनाका सुचना अधिकारी खगेन्द्र बहादुर शाहीले हाईटेन्सन बिद्युत टावर हटाउनको लागि सडक आयोजना कार्यालयले मात्रै हटाउन सम्भव नरहेको बताए । उनले डेढ करोड भन्दा बढीको लागत लाग्ने उक्त कार्यका लागि सडक आयोजनाको बजेटले मात्रै नपुग्ने बताए । सुचना अधिकारी शाहीले यसबारेमा जानकारी यस अघिनै नेपाल बिद्युत प्रबिधिकरण क्षेत्रीय कार्यालय अत्तरियामा पठाईसकेको बताए । ‘नेपाल बिद्युत प्राबिधिकरण कार्यालयको केन्द्रिय कार्यालय संग समन्वय गरि हटाउन अत्तरिया कार्यालयले नै पहल गर्नु पर्छ । सुचना अधिकारी शाहीले भने – ‘सडक किनारामा रहेको उक्त हाईटेन्सन बिद्युत टावर हटाएर कुन ठाउँमा राख्ने भन्ने बिषयमा पनि अन्योलता कायमै रहेको छ । टावरको नजिकै खालि जग्गा छैन ।’
उनले टावर नहटे पनि सडक निर्माणको काम भने नरोकिने बरु सो हाईटेन्सन बिद्युत टावर क्षेत्रको निर्माण कार्य छोडेर भएपनि काम अगाडी बढाईने बताए । राजेन्द्र निर्माण सेवाका ईन्चार्ज प्रयाग राज भट्टले हाईटेन्सन बिद्युत टावर नहट्दा सो क्षेत्रको निर्माण कार्यमा समस्या भएको बताए । उनले टावर ६ लेन सडकको नाली क्षेत्रमा परेकाले सो क्षेत्रमा नाली निर्माण पनि गर्न नसकिएको बताए ।
वि स २०७४ जेठमा ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएर सडक निर्माणको म्याद २०७६ जेठमा सकिएको भएपनि अहिले सम्म सडक किनारामा रहेको हाईटेन्सन बिद्युत टावर कसले र कसरी हटाउने भन्ने अन्योलता कायमै छ । उता उता सडक निर्माणको काम पनि निर्माण अबधि सकिए पनि आधा पनि सम्पन्न हुन सकेको छैन ।
धनगढी भन्सार रोड देखि अत्तरिया चोक सम्म १४.२ किलोमिटर लामो ६ लेन सडक ३ खण्डमा छुट्याएर छुट्टा छुट्टै ठेक्का मार्फत् काम भइरहेको छ । आयोजनाको दोस्रो र तेस्रो खण्डको ठेक्का निर्माण कार्य राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने पहिलो खण्डको निर्माण नागार्जुन जेभीले गरिरहेको छ ।
समयमै सडकको निर्माण गर्न नसकेको आरोप निर्माण व्यवसायीहरुलाई लाग्ने गरेको भएपनि निर्माण व्यवसायीले भने समयमै साईड क्लियर हुन नसक्दा निर्माण कार्य ढिला भएको बताउने गरेका छन । १ अर्ब ६८ करोड रुपैयाँ आयोजनाको लागत रहेको यस क्षेत्रमा सञ्चालित ठूला आयोजना मध्ये एक हो । आयोजना निर्माणमा भइरहेको ढिलाइले पानी पर्दा हिलाम्मे र घाम लाग्दा सडक धुलाम्य हुँदा स्थानीयले भने सास्ती व्यहोर्नु परेको छ ।