धनगढी -सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याउन्दै आएको छ । संक्रमित संख्या पनि बढेको बढ्यै छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण बढ्दै गएको बताइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको जानकारी दिए ।
उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।
यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए ।सरकारले गत जेठ २८ गते लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।
यस्तै यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमणको थप जोखिम बढेको छ भने सर्वसाधारणले समेत पर्याप्त सावधानी अपनाएको पाइएको छैन ।
जोखिमकै बीच मन्त्रिपरिषद्को गत सोमबारको बैठकले खुकुलो बनाइएको लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ भनेहवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने जनाएको छ ।
सुदुरपश्चिममा पनि जोखिम कायमै
सुदुरपश्चिममा पनि कोरोना जोखिम बढदै गएको छ । दिन दिनै संक्रमितको संख्या पनि बढिरहेको छ । बुधबार मात्रै थप २ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ हजार ७ सय ७२ पुगेको छ। स्थानिय बजारहरुमा लकडाउन खुकुलो भए संगै कोरोना को संख्या बढदै गएको छ । यँहा कोरोना चेकजांच गर्ने मसिन एउटा मात्रै हुँदा परिक्षणको नतिजा एकिन हुन सकिरहेको छैन । क्वारिनटाइनमा बसेकाहरुको पनि तिब्र परिक्षण नहुँदा यो संख्या अझै बढने देखिन्छ । कोरोना कै कारण अहिलेसम्म सुदुरपश्चिममा ७ जनाले ज्यान गुमाईसकेका छन ।