अत्तरिया – विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरसको त्रासले अहिले जनजिवन अस्तव्यस्त बनेको छ । कोरोना भाईरसको संक्रमण फैलिनबाट बच्नको लागि नेपालमा पनि उच्च सतर्कता अपनाईएको छ । यसको जोखिमबाट बच्न अहिले नेपालमा पनि लकडाउन गरिएको छ । जसले गर्दा मानिसहरु घरभित्रै बस्न बाद्य छन ।
लकडाउनले सबैतिर बन्द हुँदा त्यसको प्रत्यक्ष मारका कुखुरा पालक किसानहरु पनि परेका छन । तयार भएको निश्चित समयमा बोईलर कुखुरा तथा अण्डा बेच्नु पर्ने भएपनि अहिले किसानहरुले तयारी कुखुरा र अण्डा सहज रुपमा बेच्ने पाएका छैनन् भने कुखुराका लागि आवश्यक पर्ने दाना समेत पुगाउन समस्या भएको छ । कुखुराजन्य पदार्थ अतिआवस्यक बस्तुमा पर्ने भएपनि कुखुराको कारोबार सहज हुन नसकेको किसानहरुले गुनासो गरेका छन ।
तयारी कुखुरा बिक्रि गर्ने चिन्ता
सामान्यताया ४०– ४५ दिन देखि बच्न सुरु गरीने बोईलर कुखुरा तयारी अवस्थामा हुँदा पनि बेच्न नपाउँदा किसानहरु चिन्तीत बनेका छन । अरु बस्तु जस्तो संकलन गरेर राख्न नमिल्ने भएकाले किसानहरु समस्यामा परेका हुन । रुपन्देहिको बगउलीका कुखुरा पालक किसान गणेश चौधरीले कुखुरा तयार भएपनि बजारको समस्याले गर्दा धेरै समस्या भएको बताए । उनले २ हजार ५ सय कुखुरा बजारमा बिक्रि गर्न तयार भएको भएपनि बजार नै बन्द हुँदा कता बेच्ने भन्ने समस्या भएको बताए । उनले अर्को लटमा पनि ४ हजार २ सय कुखुरा तयार हुने तयारीमा रहेको भएपनि कुखुरा बिक्रि नभए कसरी जिबिको चलाउने भन्ने समस्या भएको बताए ।
रुपन्देहिका किसान एसपी यादवले २ हजार कुखुरा तयारी अवस्थामा भएपनि बजार नपाउँदा समस्यामा परेको बताए । उनले लाखौ खर्च गरेर पालेका कुखुराले बजार नपाउँदा ठुलो नोक्साने बेहोर्नु पर्ने अवस्था आएको बताए । कैलालीको टिकापुरका किसान पदम शाहले बजार बन्द हुँदा कुखुरा कहाँ लगेर बेच्ने भन्ने चिन्ता भएको बताए ।
कुखुरालाई दाना पुगाउँनै समस्या
लकडाउनले गर्दा अत्यावस्यक बस्तुमा पर्ने कुखुराको दाना सहज रुपमा ढुवानी नहुँदा पनि किसानहरुले कुखुरालाई दान दिन सकेका छैनन् । कुखुरा पालक किसान रमेश बिष्टले आफूले दाना अभावमा न्यून दाना कुखुरालाई दिएर पालिरहेको बताए । ‘मेरो १९ दिनको कुखुरा भयो । अहिले दानाको अभाव भएर न्यून मात्रामा दाना दिइरहेको छु ।’ उनले भने – ‘सरकारले दाना ढुवानी नरोक्ने भनेको त छ तर अहिलेसम्म सहज भएको छैन ।’ उनले अहिले जसोतसो दाना खुवाए पनि बिक्रि हुने हो कि हैन भन्ने चिन्ताले सताएको बताए ।
त्यस्तै स्याङ्जाका कुखुरा पालक किसान राज रेग्मीले लकडाउनले किसान समस्यामा परेको बताए । उनले ७ हजार कुखुराका लागि केहि दिन मात्रै पुग्ने दाना भएपनि लामो समय लकडाउन लम्बिए समस्या हुने बताए ।
काठमाण्डौको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीका किसान राजन अधिकारीले दाना अभाव हुँदा कुखुरालाई थोरै मात्रै दाना खुवाईरहेको बताए । ‘कुखुराको दाना उपलब्ध हुन नसकेका कारण विगत ४ दिन देखि दैनिक २ बोरा मात्र दाना खुवाएर राखेको छु ।’ ३ हजार कुखुरा पालेका अधिकारीले भने ‘सामान्य अवस्थामा दैनिक ८ बोरा दाना खपत हुने समय हो ।’ उनले कुखुरामा सिआरडी रोगको समस्या देखिएपनि औषधी नपाएको बताए ।
कुखुरा पालक किसान बिश्नु कोईरालाले दान नपाएर कुखुरा मर्न लागेको गुनासो गरे । उनी भन्छन ‘कुखुरा दाना खान नपाएर मर्न थाले सरकार भन्छ कुखुराको चल्ला दाना ओसार–पसारमा रोक छैन ।’ उनले कोरोनाको डरले दाना औषधीका फ्याक्ट्रीहरु नै बन्द हुँदा दान पाउन समस्या भएको बताए । उनले कुखुरा पाल्न लाखौ लगानी लाग्ने भएपनि बिक्रि नहुँदा त्यस्को खर्च किसानले कसरी व्यहोर्ने भन्ने चिन्ता भएको बताए ।
बिरामी कुखुराको उपचारमा समस्या
पछिल्लो समय लकडाउनले बजार बन्द हुँदा किसाहरुले कुखुराको लागि आवश्यक पर्ने औषधी समेत किन्न नसकेको गुनासो गरेका छन । सियारी गाउँपालिका ४ उर्लावामा कुखुरा पालन गर्दै आएका किसान नन्दु पाण्डेले औषधीकै अभावमा सय भन्दा बढी कुखुरा मरेको बताए । उनले ५ सय कुखुरा फर्ममा हालेको भएपनि रोग लाग्दा औषधी किन्न नपाएर १ सय १० कुखुरा मरेको बताए ।
समस्या नै समस्या सङ्ग जुद्दै आईरहेका नेपालका कुखुरा पालक किसान पछिल्लो समय विश्यव्यापि रुपमा फैलिएको कोरोनामा भाईरसको प्रकोपले झनै मारमा परेका छन । जुन सुकै रोग फैलिएपनि कुखुराबाट रोग फैलिने भन्ने भ्रमले गर्दा कुखुरा किसान मारमा पर्दै आएका छन ।
लकडाउन र कोरोनाको प्रभावमा परेका कुखुरा पालक किसानको समस्या सामाधानका लागि सरकारले अन्य दुग्ध, खाद्यान्य पदार्थ जस्तै कुखुरा लगायत मासुजन्य पदार्थको कारोबारमा पनि बिशेष ध्यान दिन आवश्यक छ ।