अत्तरिया - सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु नहुदाँ समस्या हुने गरेको छ । सवारी दुर्घटना न्यूनिकरणमा महत्वपुर्ण भुमिका खेल्दै आएको ट्राफिक प्रहरीलाई सवारी चेकजाचका क्रममा अतिआवश्यक पर्ने सामग्रीहरु नहुँदा समस्या हुने गरेको हो ।
नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा ट्राफिक प्रहरीसंग अतिआवश्यक पर्ने ब्रेथलाइजर मेसिन नरहेको पाइएको छ । ट्राफिक प्रहरीले सवारी चेकजाचका क्रममा सवारी साधन चलाउने चालकले मादक पदार्थ सेवन गरेको छ वा छैन भन्ने छुट्याउनका लागि ब्रेथलाइजर मेसिनको प्रयोग गर्ने गर्दछन् । यद्धपी उक्त मेसिन नहुदा अहिले प्रहरीले चालकको मुख सुघेर मापसे गरेका वा नगरेको बारे पत्ता लगाउनुपर्ने बाध्यता रहेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिम प्रदेशभरि कुनै पनि जिल्लामा ट्राफिक प्रहरी संग ब्रेथलाइजर मेसिन नहुदाँ समस्या भैरहेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरु नभएको अबस्थामा काम गर्न समस्या भैरहेको बताए ।
'हेर्नुस हामीलाई सवारी चेकजाँचका क्रममा ब्रेथलाइजर मेसिन अतिआवश्यक पर्दछ, तर अहिले हामीसंग कुनै पनि जिल्लामा यो मेसिन छैन जसले गर्दा काम गर्न धेरै समस्या भैरहेको छ' उनले भने - 'हामीले बिशेष गरेर साझँपखको समयमा सवारी चेकजाच गर्दा मापसे गरेको नगरेको भनेर पत्ता लगाउन निकै गाह्रो हुने गरेको छ ।'
यसका लागि सुघेर पत्ता लगाउनुपर्ने बाध्यता रहेको बताउदै उनले यसो गर्दा थुप्रै रोगको संक्रमण बढ्नुका साथै चालकलाई काबाही गर्दा पनि समस्या हुने गरेको बताए । ट्राफिक प्रहरीसंग आफूले प्रमाणित गर्न सक्ने आवश्यक सामग्रीहरु नहुदा प्रदेशका बिभिन्न राजमार्गहरुमा संचालन हुने सवारी साधन तथा तिनका चालकहरुलाई चेक गर्नुपर्दा सवारी चालक र ट्राफिक प्रहरी बिच विवाद समेत हुदै आएको छ ।
चेकजाच गर्ने क्रममा चालकको मुख सुघेर , हाउभाउ र ब्यबहार देखेर त हामी पत्ता लगाउछौ तर पछि कारबाही गर्दा के प्रमाण छ किन करबाही गरेको भन्दै बिभिन्न विवादहरु उत्पन्न हुने गरेको प्रहरी उपरिक्ष श्रेष्ठले बताए । उनले यो मात्रै नभएर अन्य बिभिन्न उपकरणहरुको पनि अभाव रहेको बताए ।
यस बिषयमा आफुले बिभिन्न सहयोगी संघ सस्थाहरुसंग र प्रहरी प्रधान कार्यालयमा जानकारी गराइसकाले चालु आर्थिक बर्ष सम्ममा सम्पुर्ण समाग्रीहरु आइपुग्नेमा आशावादी रहेको बताए । उनले पछिल्लो समय सबै भन्दा बढि मोटरसाइकलहरु दुर्घटना भैरहेकाले सडकमा ड्युटिमा रहने ट्राफिक प्रहरीको टाउकोमा राख्न मिल्ने क्यामराहरु र स्पिड कन्ट्रोलर मेसिन पनि माग गरिएको बताए । जसले गर्दा ट्राफिक ब्यबस्थापन र सवारी दुर्घटना न्यूनिकरणमा महत्पुर्ण सहयोग पुग्ने उनको भनाई छ ।
यसका लागि स्थानिय सरकार र प्रदेश सरकारलाई पनि सहयोग गरिदिन उनले आग्रह गरे । यसैगरि स्थानिय सरकारसंग मिलेर मुख्य मुख्य बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान तथा ट्राफिक पोष्टहरु स्थापनाको कार्यलाई पनि अगाडी बढाएको बताए ।
प्रहरी उपरिक्षक श्रेष्ठले पहिलेको भन्दा अहिले धेरै जसो ठूला सवारी दुर्घटनामा कमी आएपनि मोटरसाइकल दुर्घटनालाई कम गर्न चुनौती रहेको बताए । उनले यसका लागि मेसिन आएपछि सहज हुने बताए ।