‘साहुजी, अण्डा दिनुस् न !,’ कलेज पोशाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ ।
राजनीतिक गफलाई यहीँ रोक्दै साहुजी सामान दिन जान्छन् ।
'हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदिनुस्... !,' ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित बोल्छन्, 'ए, लेखिदिने ! हुन्छ ।'
साहुजी अघि उठेकै ठाउँमा फर्किन लागेको बेला फेरि आवाज आउँछ, 'सर, केही सामान राख्नुहुन्छ ?' 'अहिले होइन, दुई/तीन दिनपछि आउनुस् ल', साहुजीले उस्तै मुस्कानसहित उत्तर फर्काउँछन् ।
फेरि अर्को आवाज आउँछ, 'साहुजी कति बोरा चामल ?'
साहुजीले आफ्नै शैलीमा भन्छन्,'चार बोरा मोटा, तीन बोरा मसिना !'
पसलमा राखिसकेपछि बिल थमाउँदै चामलवाला भन्छन्, 'पैसा दिनुस् न, नभए चेक दिए नि हुन्छ ।'
'चेक त दिने, पैसा ?'
'दिनु न दिनु !'
साहुजी जवाफ फर्काउँछन्, 'हुन्छ, तर एक महिनापछि मात्रै साट्न जानू ल ।'
बिहानको समय, धनगढीको एउटा साधारण किराना पसलमा ग्राहकको आवतजावत सुरु भइसकेको छ । ग्राहक आउँछन् । सामान माग्छन् । काउन्टरभित्र बसेका साहुजी सामान तौलिन्छन्, बिल बनाउँछन्, मुस्कुराएर ग्राहकलाई बिदाइ गर्छन् । अलिकति फुर्सद भएमा फेरि राजनीतिक गफ सुरु हुन्छ, तर कुरा टुङ्गिन पाउँदैन । फेरि उही सिलसिला । सामान माग्ने, दिने !
एउटा पसलको यो दृश्य र साहुजीको विषय धेरैलाई सामान्य लाग्न सक्छ, तर केही वर्षअघि यही व्यक्ति प्रदेश सरकारको मुख्यमन्त्री थिए । कतै जाँदा अघिपछि सरकारी गाडीको लस्कर । सुरक्षा घेरा । एउटा निर्णयले हजारौँ कर्मचारी र लाखौँ नागरिकको जीवन प्रभावित हुने स्थानमा पुगेका व्यक्ति । आज उनको निर्णय ग्राहकको मागमा निर्भर छ । चामलको बोरा उठाउने कि, अण्डा दिने । दाल दिने कि अरु नै । ती व्यक्ति हुन्– सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्ट ।
नेपालमा अधिकांश नेता र उच्च ओहदामा पुगेका व्यक्तिले विलासी र वैभवशाली जीवन बाँच्छन् भन्ने भाष्यबीच यी साहुजी अर्थात् पूर्वमुख्यमन्त्री भट्टले एउटा साधारण जिन्दगी बाँचिरहेका छन् । त्यसैले पनि धनगढी उपमहानगरपालिका–४ घरेलु चौकस्थित त्यो ‘न्यू प्रस्थान किराना पसल’ साधारण छैन । 'राजनीति मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन', पूर्वमुख्यमन्त्री भट्टको यो भनाइ राजनीतिक भाषण मात्रै होइन, जीवनशैली नै बनेको छ ।
मुख्यमन्त्री हुनुअघि उनले राजनीति र खेतीसँगै गर्थे । लामो समय त भारतमा काम गरेर बिताए । भट्ट संघीयता कार्यान्वयनका क्रममा २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनपछि कार्यकारी जिम्मेवारीमा पुगे । त्यसबेला ‘चौकीदार मुख्यमन्त्री’ भनेर चर्चासमेत भएको थियो ।
पदबाट बाहिरिएपछि उनी आफ्नो पहिलेकै जीवनतर्फ फर्किएका छन् ।अर्थात् श्रम र राजनीतिसँगै गर्ने जीवनतर्फ । 'कार्यकारी भूमिका निर्वाह गरेपछि तरकारीखेती गर्ने इच्छा थियो, जमिन छैन । भाडामा लिनसक्ने पुँजी भएन । ठूलो व्यापार गर्ने हैसियत थिएन', भट्टले भने, 'अन्ततः एउटा सानो किराना पसलबाट नयाँ सुरुवात गर्ने निर्णय गरेँ । २०८२ वैशाखमा यो पसल सञ्चालन गरेको हुँ ।'
'ठूलो लगानी थिएन । अचेल पनि अवस्था त्यही छ । अलिअलि सामान बेच्ने, फेरि किन्ने, फेरि बेच्ने । 'सानैबाट सुरु गरौँ भन्ने सोचबाट तीन–चार लाख लगानीमा यो पसल सञ्चालन भएको हो, अहिले पनि ठूलो बनाउन सकिएको छैन । हेरौँ भविष्यमा के के हुन्छ', उनले भने । भट्टको सपना केवल किराना पसल चलाउनु मात्रै होइन, सुदूरपश्चिमका रैथाने अन्न, अर्ग्यानिक उत्पादन र स्थानीय किसानका वस्तुलाई बजारसँग जोड्ने केन्द्र बनाउने हो ।
लगानीले भने साथ दिएको छैन, तर सपना अझै जीवितै रहेको उनले सुनाए । लगानी नभएकाले व्यवसाय सानै छ । दैनिक हुने कारोबारले केहीले सामान थप्ने र केहीले परिवारका आवश्यकता पूरा गर्ने चक्र चलिरहेको छ । पूर्वमुख्यमन्त्री भट्टको जीवन पनि त्यही चक्रमा छ–सामान्य, तर स्वाभिमानी ।
सानो व्यापार, ठूलो सन्देश
त्रिलोचन भट्ट २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट चुनावमा पराजित भए । २०७४ सालको निर्वाचनमा भने डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता र पाँच वर्ष मुख्यमन्त्री भए ।
नेपाली राजनीतिमा एउटा अनौठो संस्कार छ । एकपटकको नेता सधैँको नेता । कामभन्दा कुरा बढी । अनि अवसर पाएको बेला कमाइहालौँ भन्ने सोच । उनले पनि पाँच वर्ष मुख्यमन्त्रीका रूपमा सरकारले दिएको सुविधा उपयोग गरे । तर, त्यसपछि के गर्ने भनेर कहिल्यै सोचेनन् । पाँच वर्ष महँगो गाडी चढे । राज्यसत्ता के हो भनेर बुझे तर पदमा नहुँदा के गर्ने ? 'त्यसबारे कहिल्यै सोचिनँ, किनकि मुख्यमन्त्रीबाट हटेपछि मैले बाँच्ने जिन्दगीबारे प्रस्ट थिएँ । त्यसैले मलाई मुख्यमन्त्रीको सेवासुविधा छुटेपछि पनि कहिल्यै असहज लागेन । अरु नागरिकसरह दिनचर्या चलिरहेको छ,' पूर्वमुख्यमन्त्री भट्टले भने ।
आफू विगतदेखि नै काम गरी खाने श्रमजीवी नागरिकको बीचमै रहेकाले सरल जीवनबारे सधैँ गौरव रहेको उनी बताउँछन् । उनले भने, 'मैले नजिकबाट देखेँ नि ! राज्यको जिम्मेवार पदमा गए पनि देशको आर्थिक अवस्था र दिइने सुविधाले सामान्य जीवन बाँच्नेभन्दा धरै चिज गर्न सकिँदैन, चाहे राष्ट्रपति हुनुस्, प्रधानमन्त्री वा मुख्यमन्त्री । तथापि, धेरैले रहरलाग्दो जिन्दगी बाँचिरहेका छन् । त्यसैले पनि अधिकांश नेता आलोचित छन् । मेरो प्रस्ट कुरा भनेको नेता होस् या जोसुकैले आफ्नो र परिवारको जीवन चलाउन केही न केही गर्नैपर्छ ।'
भट्टसँग न आफ्नै घर छ, न गाडी । आफ्नै जग्गासमेत छैन । 'गाउँमा रहेको पुर्ख्यौली सम्पत्ति पनि चार दाजुभाइको साझा हो । मेरो व्यक्तिगत केही छैन', उनी भन्छन् । यो वाक्य नेपाली राजनीतिमा सामान्य सुनिँदैन, किनभने यही देशमा केही महिनाको सत्ताले करोडौँको सम्पत्ति जोडेको चर्चा सामान्य विषय बनिरहेको छ ।
पूर्वमुख्यमन्त्री भट्ट पनि अचम्म मान्दै भन्छन्, 'केही महिना र वर्ष कार्यकारी पदमा बसेर टन्न सम्पत्ति कमाएका मानिस देख्दा म सोचिरहन्छु– कसरी सम्भव भयो ? यो प्रश्न एक व्यक्ति, नेता वा पार्टी प्रणालीका लागि मात्र नभई सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्कृतिका लागि पनि हो ।'
उनको बुझाइमा समस्या राजनीतिमा मात्रै होइन, सामाजिक मनोविज्ञानमा पनि छ । 'जनताले पनि मेरो नेताले पदमा हुँदा जसरी भए पनि आफ्नो काम गरिदेओेस् । नेताले नेताको जस्तो जिन्दगी बाँच्नसक्नुपर्छ नि भन्छन् । इमान, नीति, नियमको कुरा गरेमा तिनैले यस्तो पनि नेता भनेर कुरा काट्छन्', भट्टको भोगाइ बोल्छ ।
उनी यही दोहोरो चरित्रको बीचमा आफू उभिएको बताउँछन् । 'कतिपयले मलाई देखेर विचरा ! पाँच वर्ष मुख्यमन्त्री भयो, अहिले पसल चलाइरहेको छ । आफ्नै लागि केही गरेको रहेनछन्, अनि कसरी अरुको लागि गर्थे भनेर कुरा काट्छन्', पूर्वमुख्यमन्त्री भट्ट यस्तो प्रवृत्तिप्रति खिन्नता प्रकट गर्छन् ।
उनी आफूलाई कहिल्यै पनि विचरा मान्दैनन् । बरु समाजलाई एउटा प्रश्न सोध्छन्, 'विचरा जीवन भनेको आखिर के हो ?' उनको उत्तर सरल छ, 'इमानले बाँचेको जीवन नै महान् हुन्छ । त्यसैले म अहिले बाँचेको जीवनमै खुसी छु । कार्यकारी पदमा हुँदा पनि राजनीतिक रूपमा कसैले टिकाटिप्पणी गर्नेबाहेक मेरो आर्थिक चरित्रमाथि कसैले प्रश्न उठाउन सकेनन् । यही नै मेरो सबैभन्दा ठूलो पुँजी हो', पूर्वमुख्यमन्त्री भट्ट प्रसन्नता प्रकट गर्छन् ।
हुन त उनलाई राजनीतिले अर्को पाठ पनि नसिकाएको होइन, आर्थिक रूपमा कमजोर राजनीतिज्ञको वरिपरि धेरै भिड हुँदैन, किनकि हाम्रो राजनीतिक संस्कृतिमा शक्ति र स्रोतलाई नै प्रभावको मापन मान्ने प्रवृत्ति अझै बलियो छ । तथापि, भट्ट त्यसलाई स्वीकार्दैनन् । उनले भने, 'राजनीति सिद्धान्त, निष्ठा, इमान र जनविश्वासले टिक्नुपर्छ । यद्यपि, त्यो विश्वासलाई हामीले जोगाउन सकिरहेका छैनौँ ।'
उनको परिवारमा छ जना छन् । श्रीमती, दुई छोरी, एक छोरा र बुहारी । सबैले पसलमा हात बाँड्छन् । व्यवसाय ठूलो छैन, तर श्रम साझा छ । आम्दानी थोरै छ, तर इमानको मूल्य धेरै छ । 'इमानदारीको रोटी सबैभन्दा मीठो हुन्छ । त्यो कुरा मेरो परिवारले पनि बुझेको छ । गत भदौको ‘जेन–जी’ आन्दोलनले थप बुझाएको छ', भट्ट भन्छन्, 'त्यसताका परिवारमा कुरा चलेको थियो, इमानमाथि प्रश्न बाँकी राखेर बनाइएका घर त जल्दा रहेछन्, हामीले त्यसरी बनाएको भए पनि आखिर जलिहाल्दो त रहेछ !'
एउटा सानो किराना पसल, तर त्यो पसलमा बेचिने सामानसँगै एउटा महत्त्वपूर्ण सन्देश पनि छ– सत्तापछि पनि जिन्दगी हुन्छ, तर त्यो इमानमा टिक्न सक्नुपर्छ । आजको हरेक नेतृत्वले यो सन्देश प्रवाह गर्न आवश्यक रहेको भट्टको कथन छ । 'किनकि लोकतन्त्रलाई जीवन्त बनाउने र नेताको कद ठूलो बनाउने कुर्सीले होइन, कुर्सीमा छँदा उसले गरेको कर्म र कुर्सी छोडेपछि उसले बाँचेको जीवनले हो । मेरो प्रयत्न त्यसैका लागि हुनेछ', उनले भने ।
राजनीतिका कुरा
देशमा राजनीतिक उथलपुथलको अवस्था छ । गत फागुनको निर्वाचनबाट पुराना राजनीतिक दलको अस्थित्वमाथि नै प्रश्न उठेको छ । तथापि, तीनै दलहरूले आफ्नो अस्थित्व भएको ठाउँमा सरकार फेरिइरहने र गठबन्धन बदलिइरहने प्रवृत्ति छोडेका छैनन् । यस्तो प्रवृत्तिबाट उनी खिन्न छन् । इतिहास बोकेका पार्टीले समयको वेग र आफ्नो राजनीतिक धरातल बिर्सिएमा पार्टी मात्र नभई सङ्घीय व्यवस्थाकै भविष्यमाथि चुनौती थपिनेमा सचेत हुनुपर्ने पूर्वमुख्यमन्त्री भट्टको सुझाव छ ।
'तपाईं हामी कुरा गरिरहेको बेला सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा छ । पहिलो कार्यकालमा हामीले सबै चुनौतीको सामना गर्दै एउटा थिति बसालेर सत्ता हस्तान्तरण गरेका थियौँ । त्यसैले दोस्रो कार्यकालको सहज अवस्थामा पनि अपेक्षित काम भएका छैनन् । यो दल र व्यवस्थाकै लागि विडम्बनाको विषय हो', भट्टले भने ।
उनी नयाँ राजनीतिक दलले सकारात्मक ऊर्जा र उत्साह दिन नसके नेपाली राजनीतिको भविष्य नै संकटमा पर्ने बताउँछन् । 'वर्षौंवर्ष त्याग, सिद्धान्त र निष्ठाको जीवन बाँचेका नेताहरू कालान्तरमा बदनाम भए । पछिल्लो समय त सजिलै राजनीतिमा आएका नेताहरू छन्, उनीहरू चाँडै त्यसो नहोलान् भन्न सकिन्न । त्यसैले नेपाल र नेपालीको सुन्दर भविष्यका लागि पनि सबै स्वार्थ छोडेर नयाँ पुराना सबै सचेत हुनुपर्ने आवश्यकता छ', नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमका सहइन्चार्जसमेत रहेका भट्ट भन्छन् ।
उनी मात्रै होइन, नेपालको राजनीतिमा यस्तै अरु व्यक्तिका कथा पनि छन्, तर ती अल्पमतमा छन् । त्यसैले धनगढीको त्यो सानो किराना पसल अचेल केबल व्यापार गर्ने ठाउँ मात्रै होइन, एउटा महत्त्वपूर्ण सन्देश दिने ठाउँ बनिरहेको छ । नेता कार्यकर्ताका जीवन, उठनबसन, तडकभडकलगायत कुराले थुप्रिएको आक्रोश विस्फोट हुने क्रम बढेकाले अब हरेक अगुवाले इमानको जीवन बाँच्नुपर्ने र त्यो सन्देश सही ढंगले प्रवाह गर्नुपर्ने पूर्वमुख्यमन्त्री भट्टको भनाइ छ ।
'सत्ता, शक्ति र सम्पत्तिका लागि जे पनि गर्ने मनोवृत्तिबाट राजनीति र शक्ति तथा पहुँचका भरमा आफ्नो काम जसरी पनि गराउनुपर्छ भन्ने आमप्रवृत्ति बदल्नै पर्छ । तब मात्रै हामीले सोचेको देश र समाज बन्छ,' उनी भन्छन् । रासस