डिभिजन वन कार्यालय कैलाली तथा मातहतका सब-डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका वन कर्मचारीहरूको तत्काल रिहाइको माग गरेका छन्।
ज्ञापनपत्रमा मिति २०८३/०२/२९ गते गोदावरी नगरपालिका–४ अन्तर्गत चुरे क्षेत्रमा वन अतिक्रमण नियन्त्रण अभियान सञ्चालनका क्रममा भएको घटनालाई लिएर वरिष्ठ डिभिजनल वन अधिकृतसहित १२ जना वन कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।
कर्मचारीहरूको भनाइ अनुसार उक्त अभियान प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको वन अतिक्रमण नियन्त्रण समिति तथा जिल्ला वन सुरक्षा समन्वय समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी, सञ्चारकर्मी र स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालन गरिएको थियो।
ज्ञापनपत्रमा गाइमारे डाँडाको सडक किनारमा वन क्षेत्रमा राखिएको टेम्पो हटाउने क्रममा भएको घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको दाबी गरिएको छ। वन कर्मचारीहरूले भीडको उत्तेजना तथा असावधानीका कारण दुर्घटना भएको उल्लेख गर्दै यसलाई फौजदारी मुद्दाका रूपमा अघि बढाउँदा वन संरक्षण अभियान प्रभावित हुने बताएका छन्।
उनीहरूले क्षतिग्रस्त टेम्पोको विषय संवाद र सहमतिबाट समाधान गर्न तथा पक्राउ परेका सम्पूर्ण वन कर्मचारीलाई निशर्त रिहा गर्न माग गरेका छन्।
साथै, आवश्यक कानुनी संरक्षण र सुरक्षित कार्यसम्पादनको वातावरण सुनिश्चित नभएसम्म वन अतिक्रमण नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण तथा वन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन्।
माग सम्बोधन नभए वन सेवाप्रति सामूहिक जिम्मेवारी वहन गर्दै गृह प्रशासनसमक्ष सामूहिक गिरफ्तारी दिन समेत तयार रहेको कर्मचारीहरूले जनाएका छन्।