राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा पूर्ण रूपमा बदर गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी निर्णयपत्रअनुसार अधिवेशनमा पार्टीको विधान र स्थापित निर्वाचन कार्यविधि विपरीत अनधिकृत रूपमा निर्वाचन गरिएको तथा लोकतान्त्रिक प्रक्रियाका न्यूनतम मापदण्ड समेत पालना नभएको निष्कर्ष निकालिएको हो।
आयोगका अनुसार कैलाली जिल्ला अधिवेशनको निर्वाचन वैधतामाथि प्रश्न उठाउँदै उम्मेदवारहरू तथा पार्टी सदस्यहरूले सप्रमाण उजुरी दर्ता गरेका थिए। ती उजुरी तथा प्रमाणहरूको अध्ययनपछि मतदान र मतगणनाको आधारभूत प्रक्रिया नै उल्लंघन भएको पाइएको आयोगले जनाएको छ।
निर्णयपत्रमा निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विभिन्न पदका मुख्य उम्मेदवारहरूले लिखित रूपमा प्रक्रिया बहिष्कार गरेको कारण निर्वाचनमा सर्वस्वीकार्यताको अभाव देखिएको उल्लेख छ। साथै, योग्य सदस्य तथा प्रतिनिधिहरूलाई नामावलीअनुसार सहभागिताबाट वञ्चित गराई समावेशी प्रतिनिधित्वमा अवरोध पुर्याइएको पनि आयोगको ठहर छ।
त्यस्तै, जिल्ला स्तरका केही जनप्रतिनिधिहरूको असहमति र सुझावको बाबजुद निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै आयोगले यसलाई पार्टीको आन्तरिक लोकतन्त्र र निर्वाचन निष्पक्षतामाथि गम्भीर असर पार्ने कार्यका रूपमा व्याख्या गरेको छ।
यसै आधारमा केन्द्रीय निर्वाचन आयोगको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सबै परिणामहरूलाई पूर्ण रूपमा बदर/रद्द गर्ने निर्णय गरेको हो।
अब उक्त जिल्लामा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सम्पन्न गर्न नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गरिने र केन्द्रबाट विशेष प्रतिनिधि टोली खटाइने आयोगले जनाएको छ।