अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमिति चयनका लागि यही वैशाख २६ गते हुने निर्वाचनका लागी राजेन्द्र बहादुर खड्का समुहले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ।
उक्त समुहले उपभोक्तालाई नियमित, स्वच्छ र सुलभ खानेपानी उपलब्ध गराउने लक्ष्यसहित १२ बुँदे योजना अघि सारेको जनाएको छ। २४ सै घण्टा स्वच्छ पानी वितरण, न्यून महसुल कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने तथा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्दै प्राकृतिक मुहानसँग प्रणाली जोड्ने योजना प्रमुख प्राथमिकतामा रहेको अध्यक्ष का उम्मेदवार खड्काले सामाजिक सन्जाल मार्फत सार्बजनिक गरेका छ्न .
त्यस्तै, पानीको गुणस्तर सुनिश्चित गर्न नियमित परीक्षण तथा त्यसको डिजिटल जानकारी सार्वजनिक गर्ने, ग्रामीण तथा मुख्य सडक दुवै क्षेत्रमा दिगो पाइपलाइन विस्तार गर्ने र संस्थाको आर्थिक पारदर्शिता कायम गर्दै मासिक विवरण वेबमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाइएको छ।
उक्त समुहले उपभोक्ता–मुखी सेवा प्रवाहका लागि कर्मचारी संयन्त्रलाई थप जिम्मेवार बनाउने, २४ सै घण्टा गुनासो सुन्ने टोल–फ्री नम्बर सञ्चालन गर्ने तथा प्राप्त गुनासो २४ घण्टाभित्र समाधान गर्ने उल्लेख गरेको छ। साथै, मर्मतसम्भार निःशुल्क गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
यसैगरी, संस्थाको आफ्नै वेबसाइट निर्माण गरी सूचना प्रवाहलाई व्यवस्थित बनाउने, निर्वाचित भएको ६ महिनाभित्र प्याकेजिङ पानी प्लान्ट स्थापना गर्ने तथा खरिद प्रक्रियालाई पारदर्शी बनाउन ठूला खरिदमा E-bidding प्रणाली लागू गर्ने प्रतिबद्धता रहेको जनाइएको छ।
उक्त टोलीले स्वच्छ पानी, पारदर्शी व्यवस्थापन र दिगो पूर्वाधार विकासका लागि आफूहरूलाई सहयोग गर्न उपभोक्तासमक्ष अपिल समेत गरेको छ।