बैशाख २६ गते हुने अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनलाई लक्षित गर्दै गणेश शाह प्यानलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ।
पारदर्शिता, पहुँच विस्तार र गुणस्तरीय सेवा सुधारलाई केन्द्रमा राख्दै प्यानलले १२ बुँदे योजना अघि सारेको हो। उक्त कुराको जानकारी शाहले सामाजिक संजाल मार्फत दिएका छन् ।
प्यानलका अनुसार संस्थाका बैठकहरू प्रत्यक्ष प्रसारण गरिनेछ भने उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न निःशुल्क हटलाइन सञ्चालन गरिनेछ। साथै, प्रत्येक बैठकपछि खानेपानीको महसुल दर पुनरावलोकन गरिने प्रतिबद्धता जनाएको छ।
आर्थिक पारदर्शिता कायम गर्न हरेक तीन महिनामा सार्वजनिक लेखापरीक्षण (Public Audit) गरिने र दीर्घकालीन समाधानका लागि प्राकृतिक पानीका स्रोत पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, अतिविपन्न नागरिकलाई निःशुल्क खानेपानी वितरण, सार्वजनिक स्थल र बस्तीहरूमा स्वच्छ पानीको पहुँच विस्तार, तथा धारा जडानका लागि आवश्यक सामग्री सहज र सस्तो मूल्यमा उपलब्ध गराउने योजना पनि समेटिएको छ।
प्यानलले ‘वाटर एम्बुलेन्स’ सेवा सुरु गरी आकस्मिक अवस्थामा पानी आपूर्ति गर्ने, दैनिक रूपमा पानीको गुणस्तर परीक्षण गर्ने र सरसफाइ तथा स्वच्छताबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
सुपथ मूल्यमा पानी उपलब्ध गराउन ‘वाटर प्लान्ट’ स्थापना गर्ने र संस्थागत समन्वयमार्फत खानेपानी संस्थाहरूबीच सहकार्य बढाउने लक्ष्य पनि राखिएको छ।
गणेश शाह प्यानलले “स्वच्छ पानी, स्वस्थ जीवन” नारासहित उपभोक्तालाई मतदान गर्न अपिल गरेको छ ।
अध्यक्षका प्रत्याशी गणेश शाह को हुन्?
गोदावरी–२ का स्थायी बासिन्दा गणेश शाह युवा नेताका रूपमा परिचित छन्। उनी यसअघि दुर्गालक्ष्मी नमुना विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहिसकेका छन्। आफ्नो कार्यकालमा विद्यालयको व्यवस्थापकीय सुधारमा विभिन्न पहल गरेका शाहले दोस्रो कार्यकालका लागि प्रयास गरे पनि पुनः अध्यक्ष बन्न सकेनन्।
शाह अत्तरिया जेसिजका पूर्व अध्यक्ष पनि हुन्, जहाँ उनले युवामुखी गतिविधि र नेतृत्व विकासमा काम गरेका थिए। उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेबिसंघ) बाट सुरु भएको हो।
नेबिसंघमा लामो समय सक्रिय रहेपछि उनी नेपाली कांग्रेससँग आबद्ध थिए, तर केही समयअघि पार्टी परित्याग गरेका छन्।
हाल शाह स्वतन्त्र रूपमा सक्रिय छन् र आफ्नो टिमलाई ‘राजनीति भन्दा बाहिरको स्वतन्त्र समूह’ भनेर प्रस्तुत गर्दै आएका छन्। कांग्रेसमा रहँदा पनि उनी शालीन र संयमित नेताका रूपमा चिनिन्थे।