निर्वाचन आयोगले अन्तिम प्रतिवेदन बुझाएसँगै नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणको तयारी सुरु भएको छ। संविधानअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूले सदनको कामकारबाहीमा सहभागी हुनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने व्यवस्था छ।
उपलब्ध तथ्याङ्कअनुसार यसपटक प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी रहेका छन्। ७८ वर्षीय केसीलाई राष्ट्रपतिले पहिले शपथ गराउनेछन् र त्यसपछि उनले अन्य सबै सांसदलाई शपथ गराउने संसदीय परम्परा रहेको छ।
संविधानको धारा ८८ अनुसार संघीय संसद्को कुनै पनि सदनका सदस्यले पहिलो पटक बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने प्रावधान छ। यस्तै धारा ९१(५) अनुसार सभामुख र उपसभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यहरूमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।
शपथ सम्बन्धी ऐन २०७९ अनुसार पनि सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुख चयन नभएसम्म प्रतिनिधिसभाको बैठक अर्जुन नरसिंह केसीकै अध्यक्षतामा सञ्चालन हुनेछ। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ।
निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सांसदहरूले पूर्ण रूपमा ‘जनप्रतिनिधि’को अधिकार भने शपथ लिएपछि मात्र प्राप्त गर्नेछन्। शपथ नलिई कुनै पनि सांसद सदनको बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिमा सहभागी हुन पाउँदैनन्।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेको घोषणा गरिसकेको छ। समानुपातिकतर्फ निर्वाचित सांसदलाई आयोगले बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको छ।
सिट वितरणअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५७ सांसद पाएको छ। कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट, एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जितेका छन्।
८ सिट प्रत्यक्ष र ९ सिट समानुपातिकमा जितेको नेकपाका पनि ५ जना सांसद ६० माथिका छन्। तीमध्ये २ जना प्रत्यक्ष र ३ जना समानुपातिकतर्फ निर्वाचित हुन्।
७ सिट जितेको श्रम संस्कृति पार्टीबाट र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक एक जना सांसद ६० वर्षभन्दा बढि उमेरका छन्। यस्तै स्वतन्त्र निर्वाचित सांसद महावीर पुन पनि ७१ वर्षका हुन्।