प्रतिनिधिसभा निर्वाचन आउन थोरै दिन बाँकी रहँदा उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुँदै मतदाता भेटघाटलाई तीव्र बनाइरहेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर–४ मा मुख्य राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार चुनावी मैदानमा छन्। एमालेका उपमहासचिव लेखराज भट्ट, कांग्रेसका गोरखबहादुर बिष्ट ‘आनन्द’, नेकपाका हरि चौधरी ‘उत्सव’ र रास्वपाका खेमराज कोइराला प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्।
राप्रपाबाट कमलबम रजबार पनि सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्। कैलाली–४ मा चुरे, गौरीगंगा र गोदावरी नगरपालिका तथा मोहोन्याल गाउँपालिकाका दुई वडा पर्दछन्। पछिल्लो समय उम्मेदवारहरूले विशेषगरी गौरीगंगा नगरपालिकालाई चुनावी केन्द्र (इपिसेन्टर) बनाएका छन्।
अघिल्लो निर्वाचनमा गौरीगंगाबाट कम मत प्राप्त भएको विश्लेषणपछि एमाले उम्मेदवार भट्ट केही दिनदेखि सोही क्षेत्रमा केन्द्रित देखिएका छन्। रास्वपाका उम्मेदवार कोइराला र नेकपाका उम्मेदवार चौधरी दुवै गौरीगंगाकै बासिन्दा भएकाले आफ्नो आधार क्षेत्र मजबुत बनाउन त्यहीँ सक्रिय छन्।
उता कांग्रेस उम्मेदवार बिष्ट पनि केही दिनयता गौरीगंगा केन्द्रित अभियानमा थिए। सो क्षेत्रमा कांग्रेसको संगठन पनि बलियो मानिन्छ। पार्टी स्रोतका अनुसार अबका दिनमा उम्मेदवारहरूले व्यक्तिगत रूपमा घरदैलो र मतदाता भेटघाटलाई अझ तीव्र बनाउने तयारी गरेका छन्। यसअघि भने स्थानीय पार्टी कमिटीको समन्वयमा पालिकास्तरीय कार्यक्रम हुँदै आएका थिए।
विगतमा यस क्षेत्रमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने गरेको थियो। यसपटक रास्वपा पनि मैदानमा उत्रिँदा चुनावी समीकरण थप रोचक बन्ने अनुमान गरिएको छ। तत्कालीन गठबन्धनमा सहभागी माओवादी र समाजवादी घटक समेटिएको नेकपा भने यसपटक एक्लै प्रतिस्पर्धामा छ।
राप्रपाको संगठन कमजोर भए पनि उम्मेदवार रजबार व्यक्तिगत रूपमा प्रभावशाली मानिन्छन्। समग्रमा कांग्रेस र एमालेको सांगठनिक मत झन्डै बराबरी रहेको विश्लेषण गरिएको छ। यस क्षेत्रमा करिब १ लाख १५ हजारभन्दा बढी मतदाता रहेका छन्।