कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’ले आफ्ना कार्यकर्तालाई अन्य उम्मेदवारका विषयमा नकारात्मक टिप्पणी नगर्न स्पष्ट निर्देशन दिएका छन्।
आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो अभियान तथा आन्तरिक बैठकमा बोल्दै उनले चुनावी प्रतिस्पर्धा मर्यादित, सभ्य र सकारात्मक हुनुपर्नेमा जोड दिएका हुन्।
उम्मेदवार शाहले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएकाले यसलाई स्वस्थ र अनुशासित बनाउन सबै कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल, सार्वजनिक सभा, घरदैलो कार्यक्रम तथा भेटघाटका क्रममा कुनै पनि उम्मेदवारको व्यक्तिगत जीवन, चरित्र वा निजी विषयमा टिप्पणी नगर्न आग्रह गरेका छन्।
निर्वाचन अभियानलाई मुद्दामुखी बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो एजेन्डा, योजना र विकासका प्रतिबद्धताहरू जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई सुझाव दिएका छन्। मतदातालाई भ्रमित पार्ने, अपुष्ट आरोप लगाउने वा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन पनि उनले निर्देशन दिएका छन्।
शाहले सकारात्मक सोच र व्यवहारबाट मात्रै जनताको विश्वास जित्न सकिने उल्लेख गर्दै सम्मानजनक राजनीतिक संस्कार स्थापित गर्न सबैलाई जिम्मेवार बन्न आग्रह गरे। प्रतिस्पर्धी उम्मेदवारप्रति सम्मान कायम राख्दै आफ्ना कार्यक्रम र योजनाका आधारमा मत माग्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनका अनुसार स्वस्थ र निष्पक्ष प्रतिस्पर्धाले लोकतान्त्रिक मूल्य–मान्यतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। चुनाव केवल जित–हारको विषय मात्र नभई जनताको सेवा गर्ने अवसर भएकाले सभ्य र शालीन व्यवहार प्रदर्शन गर्नुपर्ने उनले बताए।
शाहले कैलाली क्षेत्र नम्बर–५ को विकास र समृद्धिका लागि स्पष्ट योजना र प्रतिबद्धतासहित आफू मतदातामाझ पुगेको उल्लेख गर्दै सकारात्मक अभियानले राम्रो सन्देश जाने विश्वास व्यक्त गरेका छन्।