डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)का अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा सुप्रप ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेका छन्।
त्यसै मोटरसाइकलमा पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, सुप्रप ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको छ।
प्रहरीका अनुसार मोटरसाइकल अत्यधिक गतिमा चलाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
“प्रतिघण्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन्,” डिएसपी चन्दले भने।
उनका अनुसार मृतक योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।
प्रहरीले मृतक हरिश ओली गोदावरीमा विवाह कार्यक्रममा सहभागी भएर धनगढीतर्फ फर्किने क्रममा दुर्घटनामा परेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।