नेकपा (एमाले) कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
एमालेका केन्द्रीय उपमहासचिव समेत रहेका भट्टले बिहीबार विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, उद्योग, पर्यटन, सुशासन तथा राष्ट्रिय गौरवका आयोजनासम्मका योजनाहरू अघि सारेका छन्।
उनले गोदावरीलाई प्रदेश राजधानी बनाउने योजना कार्यान्वयनलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
डोटीबाट अत्तरियासम्मको राजनीतिक यात्रा
सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला साविक गडसेरा गाविस (हाल जोरायल गाउँपालिका–५) मा मध्यमवर्गीय परिवारमा जन्मिएका भट्ट हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा स्थायी बसोबास गर्दै आएका छन्।
विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय उनी हाल नेकपा (एमाले) को केन्द्रीय कमिटी उपमहासचिवको जिम्मेवारीमा छन्।
यसअघि यही क्षेत्रबाट निर्वाचित भई संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका उनले स्थिर सरकारको अभावका कारण अधुरा रहेका विकास योजनालाई पूर्णता दिन पुनः जनमत मागेका छन्।
“काम गर्छौं, काम देखाउँछौं” भन्ने नारासहित उनले विकासमा निरन्तरता र राजनीतिक स्थायित्वलाई मूल एजेन्डा बनाएका छन्।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता
भट्टले सुदूरपश्चिमको स्वास्थ्य तथा शैक्षिक पूर्वाधार सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेका छन्। उनले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्दै एमबीबीएस पठनपाठन सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै, सिकलसेल एनिमियाबाट प्रभावित थारु समुदायका लागि सोही विश्वविद्यालयमा छुट्टै अनुसन्धान विभाग स्थापना गर्ने योजना अघि सारेका छन्।
सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा, आईसीटीमार्फत शिक्षण, प्राविधिक शिक्षा विस्तार, “एक विद्यालय–एक खेल प्रशिक्षक” कार्यक्रम, शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन लगायतका विषयलाई पनि उनले प्राथमिकता दिएका छन्।
प्रदेशस्तरीय रंगशाला निर्माण र “एक पालिका–एक खेल मैदान” अवधारणा कार्यान्वयनका लागि DPR तयार गरी अघि बढ्ने उनले बताएका छन्।
सुशासन र ठूला आयोजना
सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र प्रभावकारी बनाउने, नियमित सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पश्चिम सेती जलविद्युत आयोजना निर्माण, दोधारा–चाँदनी ड्राइपोर्ट विकास, हरैया औद्योगिक क्षेत्रलाई विशेष व्यापार क्षेत्र बनाउने र गेटा विमानस्थललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने एजेन्डा समेटिएका छन्।
मतदातासँग अपिल
लोकतन्त्रको मूल शक्ति जनमत भएको उल्लेख गर्दै भट्टले कैलाली–४ का सम्पूर्ण मतदातासँग सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
“विकासमा निरन्तरता, जनताको हितमा राजनीति” र “राष्ट्र, राष्ट्रियता र राजनीतिक स्थायित्वका लागि दृढ संकल्प” उनका मुख्य चुनावी नारा रहेका छन्।