नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका दलका नेता खगराज भट्टले प्रदेश सरकारविरुद्ध १२ बुँदे गम्भीर आरोप लगाउँदै एक साताभित्र स्पष्ट जवाफ दिन माग गरेका छन्। अन्यथा मुख्यमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने चेतावनी उनले दिएका छन्।
मंगलबार जारी प्रेस विज्ञप्तिमा भट्टले प्रदेश सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनतामा फसेको आरोप लगाए। उनले सरकारका कामकारबाही मन्त्रीमुखी, भागबण्डामुखी र विचौलियामुखी बनेको उल्लेख गर्दै जनताको काम र सुशासन प्राथमिकतामा नरहेको दाबी गरे।
उनका अनुसार प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माणमा ढिलाइ, बजेट कार्यान्वयनमा कमजोरी, मन्त्रालयहरूमा बेथिति, अस्पतालहरूमा नियुक्ति ढिलाइ, संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नगर्नु, नीति आयोगमा अनियमितता, लगानी सम्मेलनका नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालय सञ्चालन गरी मनपरी खर्च, ऐन नबनाई गठन आदेशलाई प्राथमिकता तथा समग्र रूपमा सुशासनको अभाव जस्ता विषयमा सरकार जवाफदेही हुनुपर्ने बताएका छन्।
भट्टले बैतडी बस दुर्घटनाको प्रभावकारी छानबिनसमेत हुन नसकेको उल्लेख गर्दै प्राकृतिक विपत्तिका बेला सरकार विज्ञप्ति र राहत घोषणामै सीमित रहेको आरोप लगाए। उनले बजेट निर्माण प्रक्रियामा उठेका प्रश्न र वन मन्त्रालयसम्बन्धी अडियो प्रकरणमा छानबिन अगाडि नबढाइएकोप्रति पनि आपत्ति जनाए।
“एक साताभित्र सरकारबाट स्पष्ट, लिखित र चित्तबुझ्दो जवाफ नआए मुख्यमन्त्री र मन्त्रीहरूलाई पदमा बसिरहन नैतिक अधिकार रहने छैन,” विज्ञप्तिमा उल्लेख छ। उनले आवश्यकता परे सडक र संसद् दुवै मोर्चाबाट सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
यसैबीच, उनले प्रतिनिधिसभा निर्वाचन नजिकिएको सन्दर्भमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेका छन्।