निर्वाचन सुरक्षाका लागि छनोट भई दशदिने तालिम पूरा गरेका १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै निर्वाचन सुरक्षामा परिचालित हुनेछन् ।
नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीले १५ हजार ११० निर्वाचन प्रहरीलाई माघ १८ गते नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीका गुल्महरूमा तालिम लिएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीको तालिम पूरा भइसकेको छ ।
“सबै निर्वाचन प्रहरीले १० दिने तालिम पूरा गरेका छन् । माघ १८ गते नियुक्तिपत्र पाएका उनीहरूलाई अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,” उनले भने ।
४ हजार ६१४ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९६७ मतदानस्थल तोकिएका छन् । ती स्थलभित्र २३ हजार ११२ मतदान केन्द्र रहेका छन् । सुरक्षा विश्लेषणका आधारमा कतिपय मतदान केन्द्रलाई नै एक मतदानस्थल बराबरको सुरक्षा व्यवस्था आवश्यक पर्ने देखिएको छ ।
प्रहरीले ४ हजार ६१४ मतदानस्थल (४२.०७ प्रतिशत) लाई अतिसंवेदनशील सूचीमा राखेको छ । अतिसंवेदनशील मतदानस्थल सबैभन्दा बढी बागमती र मधेश प्रदेशमा छन् ।यी दुई प्रदेशमा रहेका अतिसंवेदनशील मतदानस्थल २,५३४ पुगेका छन्, जुन कुल अतिसंवेदनशील स्थलको ५४.९१ प्रतिशत हो । बाँकी २,०८० (४५.०९ प्रतिशत) अन्य प्रदेशमा छन् ।
प्रदेशगत विवरण:
काठमाडौं उपत्यका: १२
कोशी: ४३९
गण्डकी: ३२८
लुम्बिनी: ४६२
कर्णाली: ३५८
सुदूरपश्चिम: ४८१
४ हजार ४४२ मतदानस्थल संवेदनशील
सुरक्षा विश्लेषणअनुसार ४ हजार ४४२ मतदानस्थललाई ‘संवेदनशील’ सूचीमा राखिएको छ ।
प्रदेशगत विवरण:
काठमाडौं उपत्यका: २३७
कोशी: ८२१
मधेश: ७५५
बागमती: ४९७
गण्डकी: ५७७
लुम्बिनी: ७३८
कर्णाली: ४२२
सुदूरपश्चिम: ३९५
प्रहरीका अनुसार बाँकी २ हजार ८४५ मतदानस्थल भने सामान्य श्रेणीमा राखिएका छन् ।