प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
कैलाली क्षेत्र नं. ५ का मतदातामाझ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि सारे।
स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाए।
गेटामा सञ्चालनमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
त्यसैगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, थारु समुदायमा देखिएको सिकलसेल लगायत दीर्घरोग उपचारका लागि विशेष वार्ड सञ्चालन गर्ने योजना रहेको छ।
युवा लक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा “एक युवा, एक रोजगार” अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य ढुङ्गानाले प्रस्तुत गरेका छन्। औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी कार्यान्वयन गरिने उनले बताए।
कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
पूर्वाधारतर्फ सडक, खानेपानी, खेलमैदान तथा सहरी विकासलाई प्राथमिकतामा राख्दै “एक घर, एक धारा” नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताइएको छ।
सामाजिक न्यायअन्तर्गत दलित, महिला, थारु, जनजाति तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, भाषा र संस्कृतिको जगेर्ना, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबै श्रमिकसम्म विस्तार गर्ने योजना रहेको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका नेता तथा क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन मूल समिति संयोजक नारदमुनी राना, एमाले प्रदेश सचिब रण बहादुर चन्द , एमालेका पुराना नेता महेस्वर पाठक लगाएतको उपस्थिती रहेको थियो।