आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
झलारीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयन तथा पालनासम्बन्धी अन्तक्रियामा सहभागीहरूले स्वच्छ निर्वाचन लोकतन्त्रको आधार भएकाले यसको सफलताका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा एकमत जनाए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचनका विषयमा ढुक्क रहन आग्रह गर्दै आवश्यक सबै पूर्वतयारी पूरा भइसकेको जानकारी दिए। उनले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका तीनै अङ्ग परिचालन भइसकेको उल्लेख गरे।
“सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन,” उनले भने, “कुनै पनि घटना घट्दै गरेको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था गरिएको छ।”
जिल्ला निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए। सभ्य समाज निर्माणका लागि सामाजिक शिष्टाचार जोगाउन आचारसंहिता पालना अनिवार्य रहेको उनको भनाइ थियो।
उनले हालसम्म निर्वाचन कार्यालयमा गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नआएको जानकारी दिँदै कतै उल्लङ्घन भएको पाइएमा उजुरी दिन आग्रह गरे।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारी सवारीसाधनको दुरुपयोग रोक्नुपर्ने, उम्मेदवार तथा जनप्रतिनिधिको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नुपर्ने तथा मतदाताले स्वविवेकले मतदान गर्न पाउने वातावरण कायम गर्नुपर्ने माग गरेका थिए।